काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विभिन्न अभाव र आशंकाका बीच प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन प्रहरी सफल भएको बताएका छन् ।
सोमबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा उहाँले निर्वाचन सम्पन्न गराउने प्रहरीले दिएको सुरक्षा प्रत्याभुतिले प्रहरी संगठनको समग्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे । सीमित साधनस्रोत, भौतिक पूर्वाधारको अभाव तथा प्रहरी कर्मचारीहरूको मनोबल र क्षमताबारे व्यक्त भएका विभिन्न आशंका र अपेक्षाबीच पनि निर्वाचनलाई शान्त, व्यवस्थित र ऐतिहासिक रूपमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरूले उच्च मनोबल, सामूहिक भावना र जिम्मेवारीबोधका साथ उत्कृष्ट व्यावसायिकता प्रदर्शन गरेको उनको भनाइ छ । प्रतिकूल परिस्थितिका बाबजुद मुलुकप्रतिको समर्पण भावका साथ तोकिएको जिम्मेवारीमा केन्द्रित भई प्रहरी कर्मचारीहरूले महत्वपूर्ण भुमिका खेलेको बताए ।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरीको सक्रियता र क्रियाशीलताकै कारण समाजमा शान्ति–सुरक्षा कायम राख्न सम्भव भएको उल्लेख गर्दै प्रत्येक जिम्मेवारी क्षेत्रको विस्तृत जानकारी राखी योजनाबद्ध रूपमा सुरक्षा व्यवस्थापनलाई अझ मजबुत बनाउन निर्देशन दिए । समया नुकूल परिवर्तनलाई आत्मसात् गर्दै शिष्ट बोली, व्यवहार र आचरणसहित जनउत्तरदायी भई नागरिकप्रति पूर्ण समर्पित भएर सेवा प्रवाह गर्न पनि उनले आग्रह गरे । साथै सामाजिक सञ्जालको प्रयोग र सेवा निर्वाहका क्रममा तटस्थ, इमानदार र प्रतिबद्ध रहँदै उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिए । प्रहरी पेशा केवल जागिर नभई सेवा भएको उल्लेख गर्दै उनले सेवाभाव, इमानदारी, कर्तव्यपरायणता, उच्च व्यावसायिकता र कडा अनुशासन आवश्यक पर्ने बताए ।
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक लक्ष्यप्रति केन्द्रित भई सामूहिक भावना र भातृत्वभावका साथ जिम्मेवारी उत्कृष्ट रूपमा सम्पादन गर्नुपर्ने उनको भनाइ थियो । संगठनको सुदृढीकरण र शुद्धीकरणका लागि आफू निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्दै उनले कानुनी अधिकारको प्रयोग गरि आगामी दिनमा अझ निष्ठावान, अनुशासित र व्यावसायिक ढंगले कर्तव्य निर्वाह गर्न सबै प्रहरी कर्मचारीलाई आह्वान गरे । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतका कार्यालयका प्रमुख, प्रहरी अधिकृत र जवानहरूको उपस्थिति रहेको थियो ।