राजविराज (सप्तरी) । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोगसम्बन्धी) शाखाअन्तर्गत बहिरङ्ग (ओपिडी) सेवा प्रवाह गरिने भवनको डेन्टल ओपिडी सेवा र ‘रेकर्ड’ कोठामा सोमबार आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।
डेन्टल विभागकी डा. दिपाली झाका अनुसार अस्पतालमा उपचारका लागि आएको बिरामीलाई उपचार गरिरहेका बेला डेन्टल उपकरणको कम्प्रेसरमा एक्कासी विद्युत् सर्ट भएर आगो लागेको हो । सो क्रममा यहाँ रहेका अरु डेन्टल उपकरणमा विस्तारै आगो लागेर फैलिएको उनले बताइन् ।
मेडिकल सुपरिडेन्ट अवधेशकुमार मिश्राले अस्पतालमा भएको आगलागीबाट तीन थान डेन्टल उपकरण, दुई थान कम्प्रेसर, दुई थान डेस्क, तीन थान डेन्टल कुर्सी, एक थान फ्रिज र सात वटा पङ्खा पूर्ण रूपमा जलेर नष्ट भएको जानकारी दिए । अन्य थप उपकरणसहित करिब रु. २५ लाखभन्दा बढीको क्षति भएको उनले बताए ।
यो आगलागीबाट कुनै मानवीय क्षति भने नभएको अस्पतालले जनाएको छ । ओपिडी रेकर्डका रूपमा रहेका कागजाँतहरु सबै जलेर नष्ट भएका छन् । आयोगलाई जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी, सशस्त्र प्रहरी नेपाली सैन तथा स्थानीय र राजविराजबाट गएको बारुणयन्त्रले आगो निभाएका थिए ।
यसैबीच, हिजो मात्र सप्तरी क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित रामजी यादवले अस्पतालमा आगलागी भएको घटना बुझ्न आगलागीबाट भएको क्षति विवरणबारे जानकारी लिएका छन् ।