काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । संस्थाले चालु आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा तीन करोड ३८ लाख १५ हजार दुई सय २९ रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा दुई करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा संस्थाले एक करोड ७५ लाख ९१ हजार तीन सय ४९ रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार एक सय रुपैयाँ रहेको छ । संस्थाले चालु आवको पछिल्लो छ महिनाको अवधिमा दुई अर्ब ७३ करोड ८५ लाख २९ हजार पाँच सय छ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८९ करोड ७४ लाख १८ हजार आठ सय ८० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २२ करोड ५६ लाख २९ हजार आठ सय ४५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १३ दशमलव शून्य चार प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा भने दुई अर्ब ६० करोड ६० लाख १४ हजार चार सय ४८ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६५ करोड ५९ लाख ७५ हजार दुई सय ७८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ करोड ७२ लाख ३० हजार नौं सय ९३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।