काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासनमा सर्वसाधारणका लागि आवेदन दिने समय आज (फागुन २६ गते) बैंकिङ समयसम्म रहने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार, सर्वसाधारणमा सेयर निष्कासन गर्दा कम्तीमा चार कार्य दिन निष्कासन खुल्ला गर्नुपर्ने व्यवस्था रहेकोले भोलि अन्तिम दिनसम्म मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । कम्पनीको साधारण सेयरमा तेस्रो दिनसम्ममै मागभन्दा अत्यधिक बढी आवेदन परेको छ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले जारी पुँजी ९८ करोडको ३२ दशमलव ६५ प्रतिशत अर्थात् ३२ करोड बराबरको प्रति सेयर एक सय रुपैयाँ अंकित मूल्यका दरले ३२ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । सो मध्ये, आयोजना प्रभावित क्षेत्र बागलुङ जिल्लाका स्थानीय बासिन्दाहरूलाई नौं लाख ८० हजार कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।
स्थानीयलाई बाँडफाँट गरेपश्चात् बाँकी रहेको २२ लाख २० हजार कित्ता साधारण सेयरमध्ये विभिन्न समूहका लागि छुट्टाइएको थियो । सो अनुसार, १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि, पाँच प्रतिशत सामूहिक लगानी कोषहरूका लागि र दुई प्रतिशत कम्पनीका कर्मचारीहरूका लागि सेयर बाँडफाँट गरिएको थियो । यी समूहका लागि छुट्टाइएको सेयरपछि सर्वसाधारणका लागि १८ लाख ४२ हजार छ सय कित्ता सेयर फागुन १७ गतेदेखि सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो ।