काठमाडौं । यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को काठमाडौं उपत्यकाभित्रको दोस्रो शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले कपनस्थित (रिलायन्स कलेज नजिक) नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो ।
करेन्ट नुडल्स’ले नेपाली बजारमा ‘हट एन्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा आफ्नो बलियो पकड जमाउन सफल भएको छ । यसअघि काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको अपार सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले कपनमा यो दोस्रो शाखा विस्तार गरेको जनाएको छ । नयाँ शाखाको उद्घाटनको अवसर पारेर ग्राहकहरूलाई ‘करेन्ट मार्ट’ मा उपलब्ध सम्पूर्ण उत्पादनहरूको खरिदमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कपनमा अवस्थित यस मार्टको यशोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जीपी शाह र डाइरेक्टर प्रकाश पौडेलले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
नवनिर्मित ’करेन्ट मार्ट’ मा उपभोक्ताहरूले यशोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू एकै छानामुनि प्राप्त गर्न सक्नेछन् । यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोटाटो क्र्याकर्स उपलब्ध हुनेछन् । त्यसैगरी चिया पारखीका लागि करेन्ट गोल्ड मसला र सिटिसी चिया तथा विभिन्न प्रकारका मसला (जिरा पाउडर, धनिया पाउडर, रातो खुर्सानी पाउडर) आदि पनि मार्टमा उपलब्ध रहेका छन् । यशोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जीपी शाहले बानेश्वर शाखामा उपभोक्ताहरूले ’करेन्ट मार्ट’लाई देखाएको माया र विश्वासले काठमाडौंको अन्य स्थानमा पनि छिट्टै सेवा विस्तार गर्न उत्साहित बनाएको बताए । कपन र यस आसपासका उपभोक्ताहरूले अब आफ्नै टोलबाट ताजा र गुणस्तरीय उत्पादनहरू सहजरूपमा खरिद गर्न सक्ने उनको भनाइ छ ।
यशोदा फुड्स प्रालि छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । कम्पनीले ’करेन्ट’ ब्रान्डअन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरू उत्पादन गर्ने गरेको जनाएको छ । यो विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ । आफ्ना उत्पादनहरू नेपालभरि र विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै कम्पनीले नेपाली स्वादलाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरेको छ ।