काठमाडौं, पुस १०
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न शैक्षिक संस्थाहरुले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नेमा आफू आशावादी रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको काठमाडौं विश्वविद्यालय र ब्रिजइन फाउण्डेसन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौतामा सहभागी उनले मुलुकको समृद्धिका लागि सबल शैक्षिक जनशक्ति तयार गर्नुपर्ने बताए ।
राजनीतिक संक्रमणकाल पार गरी देश अहिले विकास र समृद्धिको चरणमा प्रवेश गरेको उनको भनाइ थियो । सामाजिक न्यायसहितको समानता, विकास र सुशासन आफ्नो संकल्प भएको भन्दै उनले शिक्षालाई समुदायमा पु-याउन र सक्षम जनशक्ति तयार गर्न सहायता परियोजना थालनीले मद्दत पुग्ने विश्वास व्यक्त गरे । सम्झौतामा शिक्षालाई समुदायमा पु-याउन विभिन्न क्षेत्रहरुमा विकासका पूर्वाधारहरु निर्माण गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ ।
कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि उपस्थित थिए । ब्रिजइन फाउण्डेसनका अध्यक्ष प्राध्यापक टान्को मौहमादोउ र काठमाडौं विश्वविद्यालयका उपकुलपति एवं धुलिखेल अस्पतालका संस्थापक प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठबीच बुधबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।