काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई जना डेपुटी गभर्नरको बिदाई गरेको छ । पाँच वर्षे कार्यकाल पूरा गरेका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको बिदाईको लागि राष्ट्र बैंकले राज्यकोषको ढुकुटी प्रयोग गरेर मुलुककै ठूलो पाँचतारे होटलमा भव्य कार्यक्रम सम्पन्न पनि गरेको छ । मुलुकको समग्र आर्थिक नीतिलाई वित्तीय नीतिमा रूपान्तरण गर्ने र मुलुकको सिंगो बैंकिङ क्षेत्रलाई नियमन गर्ने सर्वोच्च निकाय राष्ट्र बैंक मुलुकको समग्र बैंकिङ क्षेत्रलाई, सुशासन, मितव्ययिता र फुजुल खर्च नियन्त्रणको पाठ पढाउँदै आएको छ । यसको लागि राष्ट्र बैंकले बैंकहरूको प्रमुख कार्यकारी अधिकृतले लिने तलब तथा अन्य सुविधा निकै धेरै भयो भन्दै सुशासन र मितव्ययिताको पाठ पढाउँदै त्यस्तो शीर्षकमा गरिने खर्च समेत नियन्त्रण गर्दै आएको छ । यसमा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीहरूले खुलेर राष्ट्र बैंकको उक्त कार्यको विरोध गर्न नसके पनि मौन रूपमा भने विरोध गर्दै आएका छन् । जुन कुरा बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले अनौपचारिकरुपमा कुरा गर्दा राष्ट्र बैंकको उक्त कार्यको विषयमा मुख खोल्ने गरेका छन् ।
मितव्ययिताकै कुरा गर्दा गत वर्षको दशैँ–तिहारमा नयाँ नोट छाप्दा राज्यकोषको निकै ठूलो रकम खर्च हुने भन्दै सफा र सुकिला नोट चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले कार्यकाल सकिएका दुई जना डेपुटी गभर्नरलाई महंगो पाँच तारे होटल सोल्टीमा भव्य पार्टी दिनुले राष्ट्र बैंकको मितव्ययिताको प्रश्नलाई गिज्याइरहेको छ । कार्यकाल सकिन केही महिना बाँकी हुँदादेखि राज्यकोषकै रकम खर्च गरी विश्व भ्रमण निस्केका डेपुटी गभर्नरद्वय र विश्व भ्रमण गरेर कहिले नथाक्ने गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकको ढुकुटीमा विभिन्न बहाना र शीर्षकमा प्वाल पार्दै गएका छन् । विगतका वर्षहरूमा राष्ट्र बैंकले मौद्रिक नीतिको धेरैजसो कार्यक्रम ¥याडिसन होटलमा गथ्र्यो । तर त्यस्तो कार्यक्रममा गरिएको खर्च फजुल भएको भन्दै केही वर्षयतादेखि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम राष्ट्र बैंकको बालुवाटारस्थित आफ्नै कार्यालयमा गर्दै आएको छ भने उक्त कार्यक्रमको लागि आफ्नै क्यान्टिनबाट कार्यक्रममा सहभागीहरूको लागि खाजाको व्यवस्था गर्दै आएको छ । मितव्ययिताको लागि यतिसम्म गर्न राष्ट्र बैंक त्यसमाथि पनि गभर्नर डा. पौडेलले आफ्ना दुई जना डेपुटी गभर्नरको बिदाईको लागि पाँच तारे होटलमा भव्य कार्यक्रम राख्नुको उद्देश्य र आसय के थियो ? गभर्नर डा. पौडेलले प्रस्ट पार्नुपर्छ । यसअघि बैंकका प्रमुख कार्यकारीहरूलाई आम निक्षेपकर्ताको रकमलाई आफ्नै गोजीको पैसा नसम्झन राष्ट्र बैंकले चेतावनी दिँदै आएको थियो । यो अवस्थामा राष्ट्र बैंकका प्रमुखले राज्य कोषको ढुकुटीलाई आफ्नै खल्तीको पैसा, बाउबाजेको सम्पत्तिजस्तो ठान्नु कहाँसम्मको न्यायोचित हो ? अब बन्ने नयाँ सरकारले राष्ट्र बैंकको यस्तो कार्यलाई नियन्त्रण गरेर राष्ट्र बैंक, त्यसमाथि पनि गभर्नर डा. पौडेललाई जवाफदेही बनाउनै पर्छ । अनलाइनमा मौद्रिक नीति सार्वजनिक गरेर मौद्रिक नीतिको बारेमा राष्ट्र बैंक स्वयम्ले गरेको पत्रकार सम्मेलनमा उपस्थित नभई सञ्चारकर्मीहरूको उपस्थितिलाई नजरअन्दाज गर्दै निजी क्षेत्रको कार्यक्रममा पाहुना बन्न जाने गभर्नर डा. पौडेलले सिंगो बैंकिङ क्षेत्रलाई मितव्ययिता र सुशासन कसरी सिकाउँछन्, अब बन्ने नयाँ सरकारले त्यसको लागि गम्भीर भएर सोच्नुपर्छ ।
मुलुकको आर्थिक नीतिको मार्गदर्शक संस्था मानिने नेपाल राष्ट्र बैंकले सधैँ मितव्ययिता, अनुशासन र उत्तरदायित्वको सन्देश दिनुपर्ने अपेक्षा गरिन्छ । तर पछिल्ला वर्षहरूमा उच्च नेतृत्वको बिदाई कार्यक्रम ठूला र महंगा होटलहरूमा आयोजना गर्ने प्रवृत्तिले भने संस्थाको नैतिकता र मितव्ययितामाथि गम्भीर प्रश्न उठाएको छ । राष्ट्र बैंकजस्तो सार्वजनिक संस्थाले देशको आर्थिक अनुशासन कायम गर्ने जिम्मेवारी बोकेको हुन्छ । यस्तो संस्थाले आफ्नै नेतृत्वको बिदाई कार्यक्रममा भव्यता प्रदर्शन गर्न ठूला होटलहरू रोज्नु आफैँमा विरोधाभासपूर्ण देखिन्छ । जब मुलुक आर्थिक चुनौती, बजेटीय दबाब र खर्च कटौतीको आवश्यकताबीचमा छ, तब यस्ता कार्यक्रमहरूले आम नागरिकमा गलत सन्देश प्रवाह गर्ने सम्भावना रहन्छ । सार्वजनिक संस्थाका पदाधिकारीहरू राष्ट्रको स्रोतबाट सञ्चालन हुने संस्थामा कार्यरत हुन्छन् । उनीहरूको बिदाई सम्मानका साथ हुनुपर्छ भन्नेमा कुनै विवाद छैन, तर त्यसका लागि अत्यधिक खर्च गरेर तडकभडक प्रदर्शन गर्नु आवश्यक छ कि छैन भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । सम्मान र कृतज्ञता व्यक्त गर्ने अन्य सरल र मर्यादित तरिकाहरू पनि प्रशस्त छन् । यो तरिका अपनाउनुपर्नेमा राष्ट्र बैंक किन भड्किलो हुँदै छ ? राष्ट्र बैंक प्रमुख किन विलासी हुँदै गएका छन् ? आम नागरिकले प्रश्न गर्न थालेका छन् ।
अर्कोतर्फ, राष्ट्र बैंकले वित्तीय अनुशासन, बचत र विवेकपूर्ण खर्चको सन्देश निजी क्षेत्र र बैंकिङ प्रणालीलाई दिँदै आएको छ । तर आफ्नै संस्थाभित्र महंगा होटलमा कार्यक्रम आयोजना गरेर ठूलो खर्च गर्नुले संस्थाको सन्देश र व्यवहारबीच अन्तर देखिएको अनुभूति गराउँछ । यसले संस्थाको विश्वसनीयतामाथि समेत असर पार्न सक्छ । आजको समयमा सार्वजनिक संस्थाहरूले खर्चमा पारदर्शिता र मितव्ययिता देखाउनु अझै आवश्यक छ । राष्ट्र बैंक जस्तो संस्थाले उदाहरण प्रस्तुत गर्नुपर्ने हुन्छ, न कि आलोचनाको विषय बन्ने । उच्च नेतृत्वको योगदानलाई सम्मान गर्ने क्रममा पनि संस्थागत संस्कार, आर्थिक अनुशासन र जनउत्तरदायित्वलाई प्राथमिकता दिनु अपरिहार्य छ ।
यो अवस्थामा राष्ट्र बैंकले यस्ता बिदाई कार्यक्रमहरू कसरी, कहाँ र कति खर्चमा गर्ने भन्ने विषयमा पुनर्विचार पर्छ । भव्यभन्दा पनि सभ्य, सादगी र जिम्मेवारीलाई प्राथमिकता दिने संस्कारले मात्र संस्थाको गरिमा जोगाउन सक्छ । राष्ट्र बैंकको गरिमा जोगाउन सक्छ, राष्ट्र बैंक त्यसमाथि पनि गभर्नर डा. पौडेल समक्ष आम नागरिकको जनविश्वास बढ्न सक्छ । यसो गर्न सकेमात्र गभर्नर डा. पौडेलमा लागेको दलीय ट्याग मेटिन सक्छ । होइन भने तत्कालीन समयमा निकै लुछाचुँडीबीच नेपाली कांग्रेसको कोटामा परेको गभर्नर र नेपाली कांग्रेसबाट तत्कालीन समय टिकट लिएर चुनावमा होमिएका नेताको रूपमा समय परिचय स्थिापित भएका गभर्नर डा. पौडेलले त्यो परिचयबाट बाहिर निस्कन नसक्ने हुन सक्छन् ।