यही फागुन २१ गते भएको आम निर्वाचनले ऐतिहासिक परिणाम दियो । यसअघि एउटा पात्र पनि कतै राजनीतिक नियुक्ति नगरेको शक्ति नेपालको इतिहासमा ६७ वर्षपछि दुई तिहाइ बहुमतसहित सत्तामा पुगेको छ ।
२०१५ सालको आम निर्वाचनमा यसैगरी नेपाली कांग्रेस दुई तिहाइ बहुमत पाएर सत्तामा पुगेको थियो र त्यसले विर्ता उन्मूलनदेखि भूमि सुधारको कार्यक्रमसहितका ऐतिहासिक निर्णय गरेको थियो । अहिले नेपालको इतिहासमा ६७ वर्षपछि घटनाक्रम दोहोरिएको छ । २०१५ सालको आम निर्वाचनमा दुई तिहाइ बहुमत पाउने नेपाली कांग्रेसलाई धुलो चटाएर नयाँ दल मानिएको राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई बहुमत प्राप्त गरेको छ । अहिले राजनीतिक अवस्था भ्रष्टाचार र कुशासनको पर्याय बनेकाले यो अवस्था आएको छ र चुनाव जितेको नयाँ शक्तिले आउँदो ५ वर्षे कार्यक्रम र वाचापत्र निर्वाधरूपमा कार्यान्वयन गर्ने अवसर पाउनुपर्दछ ।
त्यसका लागि अब नियुक्त हुने प्रधानमन्त्रीले सत्ता सञ्चालनका लागि स्वतन्त्र रूपमा आफ्नो नयाँ टिम बनाउन पाउनुपर्दछ । सत्ता सञ्चालनमा कहीँ–कतैबाट हस्तक्षेप वा अवरोध हुने अवस्था आउनु हुँदैन । त्यसका लागि सर्वप्रथम यसअघि राजनीतिक नियुक्ति लिएका सबै व्यक्तिले उच्च नैतिकता देखाउँदै पदबाट राजीनामा गर्नुपर्दछ । विकसित र सभ्य प्रजातान्त्रिक मुलुकहरूमा यसरी सत्ताको राजनीतिक नेतृत्व परिवर्तन हुनेबित्तिक राजनीतिक नियुक्ति लिएका सबै व्यक्तिले राजीनामा दिने परम्परा रहँदै आएका छ । हाम्रो मुलुकको सन्दर्भमा आपसी मिलेमतोमा स्वार्थपरक कानुनी अड्चन खडा गरेर व्यवस्था गरिएका कानुनी छिद्रहरूमा टेकेर राजीनामा नदिने र नयाँ सरकारले हटाए पनि पुनर्वहाली भएर पद ओगट्ने परम्परा बस्दै आएको छ ।
अब त्यस्तो गलत मनसाय राखेर पद ओगट्ने र उनीहरूलाई बल प्रदान गर्नेहरू सबैले यो ऐतिहासिक मोडमा पदबाट राजीनामा दिएर नयाँ सरकारलाई नयाँ सोचअनुसार नयाँ मुलुक बनाउने मौका दिन ठाउँ छाड्नुपर्छ, पद ओगटेर बस्न हुँदैन् । सामान्यतया निर्वाचनपछि वा बीचमा सत्ताको नेतृत्व परिवर्तन हुनेबित्तिकै अघिल्लो सरकारका पालामा राजनीतिक नियुक्ति लिएका वा पाएका सबैले नयाँ सरकार गठन भएसँगै पदबाट राजीनामा दिनुपर्ने हो तर हाम्रो यहाँ त्यसरी नियुक्ति लिनेहरूले छेपाराले रङ्ग फेरेजस्तै गरी राजनीतिक रङ्ग फेरेर जसको सरकार बन्यो त्यसैको बन्ने परम्परा बस्दै गएको छ र पद थमौती गर्ने चलन बसेको छ । यस अवधिमा हुनेगरेको यो नै गम्भीर राजनीतिक अपराध हो र यो नै भ्रष्टाचारको सूत्र हो । अब बन्ने दुई तिहाइ बहुमतको सरकारले यसअघि राजनीतिक नियुक्ति लिएका व्यक्ति राजीनामा नदिए राजीनामा दिन आह्वान गर्नुपर्दछ र त्यति गर्दा पनि राजीनामा नदिए उनीहरूलाई जे–जसो गरेर बर्खास्त गर्न मिल्छ त्यही गरेर पदबाट बर्खास्त गरेर आफ्ना मन मिल्ने व्यक्तिहरूलाई नयाँ नियुक्ति दिएर आफ्नो योजनाअनुसारको नयाँ नेपाल निर्माणको कार्यक्रम अघि बढाउनु पर्दछ । नयाँ सरकारको कामको आरम्भ यो विन्दुबाट हुन सकेन भने जनअपेक्षाअनुसारको काम हुन सक्दैन ।
नयाँ बोतलमा पुरानै रक्सी हालेर बेचेजस्तो हुनेछ । साथै नयाँ बन्ने सरकार दुई तिहाइको हुने देखिएको कारण राजनीतिक निर्णयका आधारमा नियुक्ति हुने पदहरूमा अघिल्लो सरकारले नियुक्त गरेकाहरू स्वतः हट्ने गरी कानुन नै बनाउनु पर्छ । त्यस्तो कानुन बनाएमा रंग फेरेर पदमा बसिरहने व्यवस्था सधैँका लागि अन्त्य हुनेछ ।