सिरहा । सिरहा जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका छन् । निर्धारण गरिएको मूल्यभन्दा दोब्बर बढी रकम तिर्नुपर्ने अवस्था आएको उपभोक्ताहरूले बताएका छन् ।
लहानस्थित महराजा रेस्टुरेन्ट एन्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन् । उनले भने, ‘दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार पाँच सय रुपैयाँ मागियो । निर्धारित मूल्यमा दुई सिलिन्डरको तीन हजार आठ सय २० रुपैयाँ पर्नुपर्ने हो । नौ हजार रुपैयाँ भनेपछि कसरी तिर्नु ? त्यसपछि रित्तै हात फर्किनुपर्यो ।’ सिरहा नगरपालिका–६ मा चियानास्ता पसल सञ्चालन गर्दै आएका प्रमोद यादवले पनि निर्धारण गरिएको मूल्यमा ग्यास नपाउँदा व्यवसाय चलाउन कठिन भएको बताए । सिलिन्डर किन्दा चार हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ । उनले भने, ‘त्यति महँगोमा किनेर कसरी खर्च धान्नु ? अब खाना पनि खान नसकिने अवस्था आउला कि भन्ने चिन्ता बढेको छ ।’