काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताएकी छिन् ।
सर्वोच्च अदालतले मंगलबार अन्तरराष्ट्रिय महिला दिवस तथा न्यायाधीश महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले न्याय सम्पादन डर र त्रासमा हुन नसक्ने बताएकी हुन् । सुशासन न्यायलयको आत्मा भएको उल्लेख गर्दै सुशासन स्थापना गर्न न्यायिक स्वतन्त्रता, निष्पक्षता र निडरताबाट मात्र सम्भव भएको बताइन् । उनले भनिन्, ‘कुनै पनि डर, धम्कीबाट न्याय सम्पादन हुन सक्दैन, न्याय सम्पादन डराएर धम्काएर हुन सक्दैन । सुशासन वास्तवमा न्यायालयको आत्मा हो, संवैधानिक लोकतन्त्रको अभ्यास गर्ने निकाय हो, संविधानले सरकारको सीमाहरूको पनि निर्धारण गर्छ, सुशासन स्थापना गर्न न्यायिक स्वतन्त्रता, निष्पक्षता र निडरताबाट मात्र सम्भव छ ।’
वरिष्ठतम न्यायाधीश मल्लले संविधानले नै स्वतन्त्र न्यायापालिकाको परिकल्पना गरेको हुनाले न्यायिक स्वतन्त्रता कुनै पनि हालतमा सम्झौता हुन नसक्ने उल्लेख गरिन् । उनले भनिन्, ‘कुनै भीडबाट धम्क्याएर न्याय दिन सकिँदैन ।’ उनले महिला अघि बढेमात्रै राष्ट्र अघि बढ्ने उल्लेख गर्दै राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा खाडल अझै भएको बताइन् । अझै पनि महिलाले अन्यायको फरक महसुुस भएको हुनाले महिला दिवस मनाउनुपर्ने आवश्यकता भएको उनको भनाइ छ । उनले हरेक क्षेत्रमा अर्थपूर्ण महिला सहभागिता जरुरी भएको विगतको तुलनामा समाज बदलिएको उल्लेख गर्दै महिलाहरूले अझै धेरै गर्नसक्ने बताइन् ।
सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदीले अहिले पनि पाइला–पाइलामा क्षमताको परीक्षा दिनुपर्ने अवस्था भएकाले महिलाले एकअर्काको क्षमतामा विश्वास गर्दै परिणामुखी तरिकाले काम गर्नुपर्र्नेमा जोड दिइन् । महान्यायाधिवक्ता सविता भण्डारी बरालले महिलाले नेतृत्व क्षमता बढाएर न्यायको क्षेत्रमा न्याय, समानता, सहभागिता र समावेशीताको क्षेत्रमा काम गर्नुपर्ने बताइन् । नेपाल बार एसोसिएनका उपाध्यक्ष सरस्वती श्रेष्ठले महिला सशक्तीकरण, सहभागिता अझै धेरै आवश्यता भएको र महिलाले गर्न सक्छन् भन्ने धेरै पुष्टि हुँदै आएको उल्लेख गरिन् ।