काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार दुईवटा हाइड्रोपावर कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्नको लागि अनुमति दिएको छ । बोर्डका अनुसार कलंगा हाइड्रो लिमिटेड र सनिगढ हाइड्रो लिमिटेडलाई साधारण सेयर निष्कासन गर्नको लागि अनुमति दिइएको हो ।
धितोपत्र बोर्डका अनुसार कलंगा हाइड्रोपावर कम्पनीलाई कुल जारी पुँजीको ३५ प्रतिशतका दरले हुन आउने एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता साधारण सेयर निष्कासन गर्नको लागि अनुमति दिइएको हो । यो कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
यसैगरी सनिगढ हाइड्रोपावर कम्पनीलाई पनि कुल जारी पुँजीको ३० प्रतिशतको दरले साधारण सेयर निष्कासनको लागि अनुमति दिइएको बोर्डले जानकारी दिएको छ । सो अनुसार कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ८५ करोड ८५ लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ । कम्पनीको कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।