काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत उडो एउगेन फोल्जले नेपालमा लगानी आकर्षित गर्न सुदृढ व्यावसायिक वातावरण अत्यन्त आवश्यक रहेको बताएका छन् ।
हालै तथा नेपाल जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) सचिवालयमा भएको व्यवसायीहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले व्यापार र आर्थिक गतिविधि विस्तार गर्न सुरक्षित र लगानीमैत्री वातावरण चाहिने बताए । राजदूत फोल्जले नेपाली उद्यमीहरूलाई नेपाल र जर्मनी दुबै देशमा आयोजना हुने व्यापार मेला तथा फोरमहरूमा सक्रिय रूपमा सहभागी भएर आफ्ना व्यवसाय प्रवद्र्धन गर्न समेत आग्रह गरे । जर्मन पर्यटकहरूको नेपालप्रति बढ्दो आकर्षण, विशेषगरी पर्वतारोहण र साहसिक पर्यटनमा रहेको सम्भावनालाई पनि उल्लेख गरे ।
एनजीसीसीआईका अध्यक्ष सन्तोष चन्द्र कुँवरले नेपालमा जर्मन लगानी वृद्धि, नेपाल–युरोपियन युनियन आर्थिक सहकार्य सुदृढीकरण तथा श्रम र सीपयुक्त आप्रवासनसम्बन्धी सम्झौतामा देखिएको स्थिरता हटाउन आवश्यक रहेकोमा जोड दिए । एनजीसीसीआईका निवर्तमान अध्यक्ष अनुप बहादुर मल्लले नेपालले विगतमा जर्मनीसँग व्यापार सकारात्मक भएपनि हाल घाटाको अवस्था रहेको उल्लेख गर्दै जर्मन बजारमा नेपाली वस्तु तथा सेवाको प्रवद्र्धनका लागि मापदण्ड, मान्यता, व्यापारिक अवरोध तथा बजार पहुँचसँग सम्बन्धित चुनौतीहरू समाधान गर्नुपर्ने आवश्यकता औँल्याए ।
एनजीसीसीआईका सल्लाहकार डा. गोपाल प्रसाद तिवारीले नेपाल र जर्मनीबीच द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध सुदृढ गर्न संघले उल्लेखनीय भुमिका खेलेको बताए । कार्यक्रममा एनजीसीसीआईका उपाध्यक्ष नरेश लाल श्रेष्ठ र उत्तम भट्टराई, महासचिव एलेक्स लाल मुक्तान, कोषाध्यक्ष शुभाशीष थपलिया, सह–कोषाध्यक्ष गोपाल दास मानन्धर लगायतले भिसा सहजीकरण, उच्च आयस्तरका पर्यटक आकर्षणमार्फत पर्यटन प्रवद्र्धन, बजार पहुँच तथा निर्यात प्रवर्द्धनका विषयमा आफ्ना धारणा राखेका थिए । यसलाई काठमाडौंस्थित जर्मन दूतावासका अधिकारीहरूले सकारात्मकरूपमा लिएका थिए ।