काठमाडौं । नेपाल राष्ट्र बैंकले मूल्यवृद्धिदर खुम्चिएको जनाएको छ । चालू आर्थिक वर्षको सात महिना अर्थात् माघ मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा मूल्यवृद्धिदर घटेको देखिएको हो ।
प्रतिवेदनअनुसार २०८२ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव १६ प्रतिशत थियो । मुद्रास्फीति भनेको वस्तु तथा सेवाको मूल्य बढ्नु र पैसाको मूल्य घट्नु हो । यसको सोझो अर्थ थोरै सामान तथा सेवा खरिद गर्नको लागि धेरै पैसा आवस्यक हुनु हो । यस अर्थमा पछिल्लो समय यस्तो सूचक गत आवको सोही अवधिको तुलनामा घटेको देखिनुले पनि तथ्यांकमा मूल्यवृद्धि खुम्चिएको देखिएको हो ।
सोअनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति दुई दशमलव ५० प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ६६ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः चार दशमलव ९५ प्रतिशत र तीन दशमलव ७४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८२/८३ को सात महिनाको औसत मुद्रास्फीति एक दशमलव ९२ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव ८६ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार चालु आवको माघ मसान्तसम्ममा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११ दशमलव ६३ प्रतिशत, घ्यू तथा तेलको सात दशमलव ६१ प्रतिशत, र फलफूलको सात दशमलव ४१ प्रतिशतले बढेको छ । यस अवधिमा दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक पाँच दशमलव १९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको दुई दशमलव ९७ प्रतिशत र मरमसलाको दुई दशमलव ६१ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत भने विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २१ दशमलव ९८ प्रतिशत, शिक्षाको सात दशमलव ४६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको पाँच दशमलव २८ प्रतिशत, सुर्तीजन्य पदार्थको चार दशमलव १५ प्रतिशत र मदिराजन्य पेय पदार्थको तीन दशमलव ८५ प्रतिशतले बढेको छ । सञ्चार उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक शून्य दशमलव शून्य आठ प्रतिशतले घटेको देखिएको छ ।
यस अवधिमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक दुई दशमलव ५२ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक तीन दशमलव ५१ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । प्रदेशगतरूपमा भने चालू आवको माघ मसान्तसम्ममा कोशी प्रदेशकोे वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ५३ प्रतिशत, मधेश प्रदेशको पाँच दशमलव १४ प्रतिशत, बागमती प्रदेशको तीन दशमलव १० प्रतिशत, गण्डकी प्रदेशको दुई दशमलव ४२ प्रतिशत, लुम्बिनी प्रदेशको तीन दशमलव २९ प्रतिशत, कर्णाली प्रदेशको एक दशमलव ६२ प्रतिशत र सुदूरपश्चिम प्रदेशको एक दशमलव ६४ प्रतिशत रहेको छ । चालू आवको माघ मसान्तमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ४८ प्रतिशत, तराईको तीन दशमलव ६६ प्रतिशत, पहाडको दुर्ई दशमलव ६८ प्रतिशत र हिमालको दुई दशमलव ५८ प्रतिशत देखिएको छ ।
प्रतिवेदनअनुसार चालू आवको माघ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति छ दशमलव २१ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति तीन दशमलव ४७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । चालू आवको माघ महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति शून्य दशमलव ७२ प्रतिशत रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः नौ दशमलव ८३ प्रतिशत र तीन दशमलव २१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकांक दुई दशमलव शून्य चार प्रतिशतले बढेको देखिएको छ । प्रतिवेदनअनुसार चालू आवको माघ महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत रहेको छ । सन् २०२६ जनवरी महिनामा भारतमा यस्तो मुद्रास्फीति दुई दशमलव ७५ प्रतिशत रहेको छ । यसको अर्थ भारतमा भन्दा नेपालमा मूल्यवृद्धिको दर उच्च हुनु हो ।
सात महिनामा भित्रियो १२ खर्ब ६१ अर्ब
वैदेशिक रोजगारीबाट प्राप्त हुने आय अर्थात रेमिट्यान्स रकम बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको तथ्यांकअनुसार रेमिट्यान्स ३९ दशमलव आठ प्रतिशतले बढेर १२ खर्ब ६१ अर्ब एक करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात दशमलव पाँच प्रतिशतले बढेको थियो । २०८२ माघ महिनामा विप्रेषण आप्रवाह एक खर्ब ९८ अर्ब ८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ३७ अर्ब ५० करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले बढेर आठ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव पाँच प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय नौं खर्ब ८६ अर्ब ३४ करोड रहेको थियो ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ४५ हजार एक सय ५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख २७ हजार चार सय २४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ७४ हजार छ सय २२ र एक लाख ९० हजार आठ सय ८६ रहेको थियो ।
चालू खाता झण्डै पाँच खर्ब रुपैयाँले बचतमा
मुलुकको चालू खाता बचतमा देखिएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा चालू खाता चार खर्ब ९३ अर्ब ७८ करोडले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता एक खर्ब ८४ अर्ब १४ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ३७ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा तीन अर्ब ४७ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ११ अर्ब ४३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर पाँच अर्ब ८३ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १० अर्ब २२ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) सात अर्ब ४३ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति पाँच खर्ब ७२ अर्ब ७३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ११ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा चार अर्ब तीन करोडले बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
ढुकुटीमा ३३ खर्ब दुई अर्बबराबरको विदेशी मुद्राको सञ्चिति
विदेशी मुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २३ दशमलव तीन प्रतिशतले वृद्धि भई २०८२ माघ मसान्तमा ३३ खर्ब दुई अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।
प्रतिवेदनअनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ माघ मसान्तमा १६ दशमलव सात प्रतिशतले वृद्धि भई २२ अर्ब ७६ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ माघ मसान्तमा २१ दशमलव दुई प्रतिशतले बढेर २९ खर्ब २६ अर्ब ९९ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ माघ मसान्तमा ४२ दशमलव आठ प्रतिशतले बढेर तीन खर्ब ७५ अर्ब ६७ करोड कायम भएको छ । २०८२ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव पाँच प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१ महिना तीन दिनको वस्तु आयात र १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।