काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिसयन अफ नेपालको हालै सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी विषयमा दायर गरिएको रिट निवेदन उच्च अदालतले खारेज गरिदिएको छ ।
नाडाले अदालतमा मुद्दा परेपछि नवनिर्वाचित कार्यसमितिको औपचारिक शपथग्रहण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो । अदालतले निर्वाचन प्रक्रियाविरुद्ध परेको रिट निवेदन खारेज गरेसँगै नाडाको नवनिर्वाचित कार्यसमितिको शपथग्रहणका लागि बाटो खुलेको छ । बुधबार पाटन उच्च अदालतबाट रिट निवेदन खारेज भएको निर्णय प्राप्त भएको नाडाले जनाएको छ । नाडाले नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम संस्थाको विधान, विधि तथा स्थापित प्रक्रियाअनुसार तत्कालै गर्ने जानकारी दिएको छ ।
नाडाको पुस २५ गते सम्पन्न ४९औँ साधारणसभाले अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित गरेको थियो । उप्रेति अध्यक्षमा निर्वारोध निर्वाचित भएको घोषणा गरेपछि असन्तुष्ट पक्षले उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए । निर्वाचन प्रक्रिया धाँधली भएको र विधानविपरीत अध्यक्षको चुनाव गराइएको भन्दै असन्तुष्ट पक्षका सुनिल रिजालले रिट निवेदन दिएका थिए । नाडाको परम्परा र विधानको मर्मअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनुपर्नेमा सो प्रावधानलाई मिचेर सिधै अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको उनको आरोप थियो ।
नाडाले अदालतको रिट निवेदन खारेज गर्ने गरेको निर्णयले सम्बन्धित विषयमा स्पष्टता ल्याएको तथा संस्थालाई आगामी दिनमा थप स्थिरता र एकताका साथ अघि बढ्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ । साथै, नाडाले सम्पूर्ण सदस्य, सरोकारवाला निकाय तथा साझेदार संस्थाहरूसँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद तथा उद्योगमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत जनाएको छ ।