काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले स्थायी सरकारलाई स्वागत गर्न आतुर रहेको जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट झण्डै दुई तिहाई सीट हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारसँग मिलेर काम गर्न आतुर रहेको महासंघले जनाएको छ ।
राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै स्थायी सरकार बन्न लागेकाले आफूहरु खुसी भएको बताए । मुलुकमा स्थायी सरकार आउनु आर्थिक विकासको बाटो खोलिनुजस्तै भएको उनको भनाई छ । ‘करिब–करिब दुई तिहाईसहितको नयाँ बन्ने सरकारको हामी स्वागत गर्छौँ, सहकार्य गर्न पनि तयार छौँ’ अध्यक्ष श्रेष्ठले भने, ‘यो सबैका लागि खुसीको कुरा हो, स्थायी सरकारले मुलुकलाई सही दिशमा अघि बढाउँछ ।’ नयाँ सरकारले भन्सार दरबन्दी घटाउनेलगायतका कामहरु गर्ने विश्वास व्यक्त गरे । उनले अब करको दर होइन दायरा बढाएर जानुपर्नेमा जोड दिए । सरकारको नीति निजी क्षेत्रमैत्री हुनुपर्ने साथै साना तथा मझौला उदोग व्यवसायहरुलाई प्राथमिकतामा राख्न पनि महासंघ अध्यक्ष श्रेष्ठले अनुरोध गरेका छन् ।