काठमाडौं । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानअन्तर्गत रहेको कलेज अफ नर्सिङमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा ल्याईएको छ ।
नर्सिङ शिक्षालाई अझ प्रभावकारी, व्यावहारिक तथा गुणस्तरीय बनाउने उद्देश्यसहित ल्याब स्थापना गरिएको हो । उक्त स्किल्स ल्याबको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठले गरेका थिए । नयाँ स्थापना गरिएको स्किल्स ल्याबमा बिरामी हेरचाहसँग सम्बन्धित प्रायोगिक अभ्यासका सामाग्रीहरु (मानिसको अस्थिपञ्जर प्रणालीको मोडेल, म्यानिकिन, आधुनिक उपकरण तथा सिमुलेसन सामग्रीलगायत बिरामीहरुलाई नर्सिङ केयर गर्दा आवश्यक पर्ने सामग्री तथा उपकरणहरु आदि) राखिएको छ । कार्यकममा प्रतिष्ठानका रजिष्ट्रार प्राडा सूर्यप्रसाद संग्रौला, शैक्षिक डीन प्राडा अनुप घिमिरे, परीक्षा डीन प्राडा अन्जु प्रधान, कलेज अफ नर्सिङका चिफ प्रा. रमानन्द चौधरी, मेट्रोन कला थापा, कलेज अफ नर्सिङका विभागीय प्रमुखहरु, शिक्षकहरु, कर्मचारीहरुलगायत विद्यार्थीहरुको सहभागिता थियो । साथै उनीहरुले ल्याबको निरिक्षण समेत गरेका थिए । मेडिकल सर्जिकल नर्सिङ, चाइल्ड हेल्थ नर्सिङ, मेटर्नल हेल्थ नर्सिङ, साइकियाट्रिक नर्सिङका शिक्षकहरुले आ–आफ्नो विभागअन्तर्गतको सामग्रीहरुको बारेमा जानकारी गराए ।
कलेज अफ नर्सिङका चिफ प्रा. रमानन्द चौधरीले नर्सिङ शिक्षामा प्रायोगिक सीपको महत्व अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनका अनुसार स्किल्स ल्याबमार्फत विद्यार्थीहरूले वास्तविक बिरामीसँग प्रत्यक्षरुपमा काम गर्नुअघि सुरक्षित वातावरणमा विभिन्न नर्सिङ प्रक्रिया तथा उपचार विधिहरू अभ्यास गर्ने, सिक्ने अवसर पाउनेछन् । यस प्रकारका सिमुलेसन–आधारित अभ्यासले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै बिरामीको सुरक्षालाई पनि थप सुनिश्चित गर्नुका साथै नर्सिङ सेवालाई गुणस्तरीय बनाउने उनले बताए । उनका अनुसार स्किल्स ल्याबमा अभ्यास गरेपश्चात् विद्यार्थीहरूले आधारभूतदेखि उन्नत स्तरसम्मका नर्सिङ सीपहरू आर्जन गर्न सक्नेछन् । यसले नर्सिङ शिक्षालाई अझ व्यवहारमुखी बनाउँदै दक्ष र सक्षम नर्स उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।