काठमाडौं । क्यान महासंघअन्तर्गतको वुमन ईन आईटी समितिले ‘शीसेक्योर २०२६ : सुरक्षित डिजिटल सञ्सारको लागि महिला सशक्तीकरण’ कार्यक्रम आयोजना गरेको छ ।
क्यानले ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलाहरूलाई डिजिटल सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित डिजिटल सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो । डिजिटल युगमा महिलाहरूको सुरक्षित सहभागिताको लागी कार्यक्रम आयोजना गरिएको वुमन ईन आईटी समितिका संयोजक सरिता न्यौपानेले जानकारी दिइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले डिजिटल युगमा विशेषगरी महिलाहरू साइबर ठगी, अनलाइन दुर्व्यवहार तथा विभिन्न प्रकारका साइबर अपराधबाट प्रभावित भइरहेका उल्लेख गर्दै डिजिटल सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताइन् ।
कार्यक्रममा क्यान महासंघकी केन्द्रीय सदस्य तथा नेपाल बैंक लिमिटेडको कार्ड एन्ड डिजिटल बैंकिङ डिभिजनकी डिभिजन हेड बन्दना शर्माले साइबर सुरक्षा, सामाजिक इन्जिनियरिङ आक्रमण, फिसिङ, अनलाइन ठगी, डिजिटल उत्पीडन, डिपफेक प्रविधिबाट हुने दुरुपयोग, रोम्यान्स तथा लगानी घोटालालगायतका बारेमा जानकारी गराएकी थिइन् ।
कार्यक्रममा क्यान महासंघका केन्द्रीय अध्यक्ष सुनैना पाण्डे घिमिरे तथा महासचिव चन्द्रविलास भुर्तेलले साइबर सुरक्षा तथा डिजिटल सचेतना अभिवृद्धि गर्न क्यान महासंघले देशभर यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाए । क्यान महासंघले महिलाहरूलाई सुरक्षित, जिम्मेवार तथा सशक्त डिजिटल सहभागिताका लागि प्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । कार्यक्रम क्यान महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, लेखा समिति संयोजक तथा सदस्यहरू, देशभरका क्यान महासंघ जिल्ला शाखाका प्रतिनिधिहरू तथा सूचना प्रविधिमा चासो राख्ने महिला दिदीबहिनीहरू गरी करिब १४० जना सहभागीहरूको उपस्थिति रहेको थियो ।