गुल्मी । मौसमको प्रतिकूलताका कारण गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान अवरुद्ध भएको छ । फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले पछिल्ला केही दिनयता बाक्लो तुवाँलोका कारण नियमित उडान गर्न नसकेको जनाएको छ ।
वायुसेवा निगमको गत आइतबार र मङ्गलबारको उडान एक सातादेखि लगातार बाक्लो तुवाँलोका कारण अवरुद्ध बनेको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
निगमका हाल तीन वटा मात्र ‘ट्वीनअटर’ जहाज रहेको र उक्त जहाजहरु समय समयमा मर्मत गर्नुपर्ने भएका कारण जहाज अभावमा उडान तालिकामा परिवर्तन गरेको जनाएको छ । निगमले उडान तालिकामा परिवर्तन गरेसँगै रेसुङ्गा विमानस्थलबाट आइतबार, मङ्गलबार र शनिबार गरी सातामा तीन पटक मात्र उडान हुँदै आएको छ ।
हाल गुल्मीदेखि काठमाडौँका लागि सात हजार ३०० र काठमाडौँबाट गुल्मीका लागि सात हजार ५०० भाडादर निर्धारण गरिएको छ ।