काठमाडौं ।नेपाल आयल निगम ले बजारमा देखिएको ग्यास अभाव व्यवस्थापन गर्न भोलि शुक्रबारदेखि आधा सिलिन्डर मात्र ग्यास वितरण गर्ने निर्णय गरेको छ। निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट का अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास खरिद गर्न पाउनेछन्। आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको मूल्यको आधा नै तोकिएको उनले बताए।
अन्तर्राष्ट्रिय स्तरमा भइरहेको युद्धका कारण ग्यासको माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले बजार व्यवस्थापनका लागि यस्तो निर्णय गरिएको भट्टले जानकारी दिए।उनका अनुसार आधा सिलिन्डर वितरण गर्दा धेरैभन्दा धेरै उपभोक्तासम्म ग्यास पुग्नेछ। “पहिले १ हजार जनाले ग्यास पाउने ठाउँमा अब २ हजार जनाले ग्यास पाउने अवस्था सिर्जना हुन्छ,” उनले भने।
यसका साथै आधा सिलिन्डर मात्र वितरण गर्दा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने (स्टक गर्ने) प्रवृत्ति पनि कम हुने निगमको दाबी छ।“आधा सिलिन्डर कसैले पनि स्टक गरेर राख्दैन, जसलाई साँच्चिकै आवश्यकता छ उसैले मात्र किन्छ,” भट्टले बताए। निगमले यो निर्णयसँगै बजारमा देखिएको ग्यास अभाव कम हुने र उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्ने अपेक्षा गरिएको जनाएको छ।