काठमाडौं । बैंकिङ क्षेत्रमा शाखारहित सेवाग्राहीको संख्या निरन्तर घट्दै गएको छ । मोवाईल र इन्टरनेट बैंकिङ सेवाको तुलनामा शाखारहित सेवा महँगो र झन्झटिलो भएकाकारण पनि पछिल्लो समय बैंक तथा फाइनान्स कम्पनीहरुले शाखारहित सेवा केन्द्रलाई निरुत्साहित गर्ने क्रम बढेसंगै शाखारहित सेवाग्राहीहरुको संख्या पनि घट्दै गएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिना अर्थात् पुस मसान्तसम्ममा बैंकिङ क्षेत्रमा शाखारहित सेवा केन्द्रको कुल संख्या घटेर सात सय ८८ मा झरेको छ । जसमध्ये वाणिज्य बैंकहरुमा सात सय ८४ र विकास बैंकहरुमा चारवटा शाखारहित सेवा केन्द्र रहेको छ भने फाइनान्स कम्पनीहरुमा यस्तो संख्या शून्य रहेको छ । गत आवको सोही अवधिमा शाखारहित सेवा केन्द्रको कुल संख्या एक हजार ६५ रहेको थियो । जसमध्ये वाणिज्य बैंकहरुमा एक हजार ४८ र विकास बैंकहरुमा १७ रहेको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो छ महिनामा अवधिमा बैंकिङ क्षेत्रमा शाखारहित सेवा केन्द्रका कुल ग्राहक संख्या पनि घटेर दुई ७६ हजार छ सय ७५ मा झरेको छ । जसमध्ये वाणिज्य बैंकहरुमा दुई लाख ७६ हजार एक सय २८ र विकास बैंकहरुमा पाँच सय ४७ रहेको छ । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा शाखारहित सेवा केन्द्रतर्फको कुल ग्राहक संख्या दुई लाख ९९ हजार आठ सय ४७ रहेको थियो । जसमध्ये वाणिज्य बैंकहरुमा दुई लाख ९८ हजार चार सय ७३ र विकास बैंकहरुमा एक हजार तीन सय ७४ रहेको थियो ।
बैंकिङ क्षेत्रमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या झण्डै तीन करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाहरुमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको कुल संख्या दुई करोड ९० लाख दुई हजार नौं सय ८४ पुगेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा झण्डै ३० लाखले बढी हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा मोबाईल बैंकिङ प्रयोगकर्ताको कुल संख्या दुई करोड ६३ लाख ३६ हजार एक सय १७ रहेको थियो ।
चालू आवको पछिल्लो छ महिनाको अवधिमा वाणिज्य बैंकहरुमा मात्र मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ४८ लाख ५३ हजार ३० रहेको छ । यसैगरी विकास बैंक र फाइनान्स कम्पनीहरुमा यस्तो संख्या क्रमशः ३८ लाख ३० हजार छ सय नौ र तीन लाख १९ हजार तीन सय ४५ रहेको छ । गत आवको सोही अवधिमा भने वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या क्रमशः दुई करोड २५ लाख ५३ हजार आठ सय ५८, ३५ लाख ३६ हजार पाँच सय तीन र दुई लाख ७३ हजार सात सय ५६ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो छ महिनामा अवधिमा नेपालमा इन्टरनेट बैंकिङ ग्राहक संख्या भने २३ लाख २८ हजार तीन सय ४३ पुगेको छ । सोमध्ये वाणिज्य बैंकमा १७ लाख चार हजार चार सय २९, विकास बैंकहरुमा छ लाख चार हजार एक सय ४१ र फाइनान्स कम्पनीहरुमा १९ हजार सात सय ७३ रहेका छन् । गत आवको सोही अवधिमा भने यस्तो ग्राहक संख्या २१ लाख १८ हजार तीन सय ८४ रहेको थियो । जमध्ये वाणिज्य बैंकहरुमा १४ लाख ८७ हजार तीन सय ५५, विकास बैंकहरुमा छ लाख १३ हजार आठ सय ८८ र फाइनान्स कम्पनीहरुमा १७ हजार एक सय ४१ रहेको थियो ।