काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुरको बखुण्डोलमा रहेको समिट होटल समूहको प्रभावमा परी ३ वर्ष देखी बन्द भएको ४५ वर्ष पुरानो ग्रिनविच भिलेज होटल खुलाउन असहयोग गरेको पाइएको छ ।
४० कोठा रहेको ग्रिनविच होटल समिट होटल समूहका संचिव कृष्ण श्रेष्ठ, अमृत शाक्य लगाएत र उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा आईजे ग्रुपका अध्यक्ष रवीभक्त श्रेष्ठको संयुक्त लगानीमा निमार्णाधिन समिट अपार्टमेन्टको बेसमेन्ट खन्ने क्रममा मध्यराती भासिएर क्षतिग्रष्त भएसँगै ३ वर्ष देखि बन्द रहँदै आएको छ ।
पाहुना सुतिरहेको अवस्थामा मध्ये राती होटलको बिल्डिङ नै भासिएसँगै बन्द भएको ग्रिनविच होटलको क्षतिपुर्ति दिने सम्बन्धमा ललितपुर महानगरपालिकाको प्रतिनिधिहरु सम्मिलित बैठकले समझदारी गरेको भएपनि हाल समिट होटल समूहको प्रभावमा परि सो समझदारीबाट महानगर पछि हटेको हो ।
तत्कालिन समयमा ग्रिनविच होटल सहित जोशन अमात्य, सुवास पाण्डे, रचना शाहि, ऋग ध्वज विष्ट र रञ्जन ध्वज विष्टको घर भासिएको भएपनि समिट होटलको प्रभावमा परि महानगरपालिकाले आन्दोलनरत घरधनीहरुलाई नगरपालिकाको सेवा सुविधाबाट समेत हटाउने धम्की दिएर सम्झौता गर्न लगाएको थियो ।
सो सम्झौता बमोजिम हाल कुनै पनि घरधनिहरु महानगरपालिकाको दबाब र समिट होटलको आक्रमणबारे मुख खोल्न नसक्ने अवस्थामा रहेको स्रोतले दावी गरेको छ ।
कांग्रेसबाट निर्वाचित मेयर चिरीबाबु महर्जन अनुपस्थित भएपनि एमालेबाट निर्बाचित उपमेयर मञ्जली शाक्य बज्राचार्यको उपस्थितिमा क्षतिपुर्ति दिने समझदारी भएपनि पावर र शक्तिले गुपचुप बनाउन खोजिएको समिट समूहको ज्यादती सतहमा आएको हो ।
आफ्नै उपस्थितिमा पिडितहरुलाई क्षतिपुर्ति दिनुपर्ने सम्झौता गरेकी महानगरपालिकाकी उपप्रमुख बज्राचार्यलाई समिट होटल समूहको अन्यायमा परेको ग्रिनविच होटललाई न्याय दिलाउन नसक्नुको कारणबारे आर्थिक दैनिकले जिज्ञासा राख्दा सो समझदारी आफुलाई थाहा नभएको र अन्यायमा परेको हो भने अदालत जान सुझाव दिएको बताइन् ।
बिल्डिङ बनाउनु अगि नै नक्शा तथा डिजाइन र आकार प्रकारको समेत पास गर्नुपर्ने भएपनि समिट होटल समूहले महानगरपालिकासंग विशेष सम्बन्ध भएकै कारण वातावरणीय प्रभाव मुल्याङन समेत नगरी सबै पक्रिया र नियमहरुको बर्खिलाप गरेको थियो ।
महानगरपालिकाले आईजे ग्रुपका अध्यक्ष रवीभक्त श्रेष्ठ र समिट समूहका संचित कृष्ण श्रेष्ठ, अमृत शाक्यको प्रभावमा परी बनाउन लागेको समित अपार्टमेन्टको लागि कुनै पनि मापदण्डहरु पुरा नहुँदा नहुँदै पनि बनाउने अनुमति दिएको थियो भने पछि विवाद बड्ने डरले सबै मापदण्डहरु पुरा गरेको प्रमाणहरु दिएको थियो ।
भवन ऐन, २०४४ को दफा १० ले भवन संहिता अनुरुप भवन निमार्ण गर्नुपर्ने, दफा ११ अनुसार भवनको डिजाइन तथा नक्सा स्वीकृति लिनुपर्ने व्यवस्था गरेको भए पनि महानगरपालिकाले आईजे ग्रुपका अध्यक्ष रवीभक्त श्रेष्ठ र समिट समूहका संचित कृष्ण श्रेष्ठसँग प्रभावमा परी घरधनीहरुीबच नै गुटबन्दी गराएर घरधनीहरुलाई आफ्नो पकडमा राख्दै इतिहास बोकेको र धेरै नेपालीहरुलाई रोजगारी दिइरहेको ग्रीनवीच होटललाई एक्लाएर क्षतिपुर्ति नदिन अनेकौ प्रयासहरु गर्दै आइरहेको पाइएको छ ।
महानगरपालिकाको उपमेयर बज्राचार्यकै उपस्थितिमा क्षतिपूर्ति निर्धारण र पुन निमार्णको लागि लाग्ने लागतको अध्ययन गरी प्रतिवेदन बुझाउन एक परामर्शतादा कम्पनी नियुक्त गरेको भएपनि पछि सो परामर्शदाता कम्पनीले दिएको प्रतिवेदनलाई थन्काएर उपमेयर बज्राचार्यले अदालत जान निर्देशन दिएकी थिइन् ।