काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेका १६ जना नेपाली नागरिकको उद्धार गरी नेपाल फर्काइएको छ ।
कम्बोडियामा अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा लगाइएका नेपालीहरूको उद्धार गरिएको थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासका अनुसार उनीहरू विना भिसा बसिरहेको अवस्थामा फेला परेका थिए । राजदूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरी गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा बिहीबार नेपाल फर्काइएको राजदूतावासले जनाएको छ । राजदूतावासका अनुसार कम्बोडियामा अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई पनि नेपाल फर्काउने पहल जारी रहेको छ ।
कम्बोडियामा केही नेपाली नागरिक अनलाइन ठगी लगायत गैरकानुनी काममा लगाइएको तथा भिसा विना वा भिसा अवधि नाघेर बसिरहेको सूचना प्राप्त भएको दूतावासले जनाएको छ । यस्तो अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्किन सहजीकरणका लागि बैंककस्थित नेपाली राजदूतावास वा गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाका प्रतिनिधिहरूसँग सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । राजदूतावासले स्क्यामिङ केन्द्रहरूमा काम लगाइएका धेरै नेपालीको राहदानी कम्पनीहरूले राख्ने गरेको वा स्थानान्तरणका क्रममा हराएको समस्या देखिएको जनाएको छ । यस्तो अवस्थामा स्वदेश फर्किन राजदूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल परमिट) उपलब्ध गराउने व्यवस्था गरेको छ ।
दूतावासले नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएरमात्र वैदेशिक रोजगारीमा जान र छिटो तथा धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डजस्ता मुलुकमा भ्रमणको बहानामा रोजगारीका लागि नजान आग्रह गरेको छ ।