काठमाडौं । धनुषा क्षेत्र नम्बर १ को घोषित निर्वाचन परिणाम उल्टिने सम्भावना बढेको छ । यस बारेमा सर्वोच्च अदालतको आज शुक्रबार निर्णय दिँदै छ । सर्वोच्चले धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहलाई कालोसूचीबाट हटाउन विहीबार नेपाल राष्ट्र बैंकलाई आदेश दिएपछि त्यहाँको चुनावी नतिजाको विषय अन्योलपूर्ण बनेको हो ।
उनी कालोसूचीमा रहेको पाइएपछि निर्वाचन आयोगले उम्मेदवारी रद्द गर्ने निर्णय लिएको थियो । तर, आयोगको निर्णय सुरुदेखि नै विवादमा थियो । उम्मेदवारी फिर्ता गरेपछि पनि पुरानौ मतपत्रमा आयोगले निर्वाचन गराएको थियो । उम्मेदवार नै नभएको चिन्हमा मत परेपछि आयोगले मतगणना गर्दा रास्वपाका उम्मेदवार साहलाई सबैभन्दा बढी मत पर्यो । तर आयोगले नियमानुसार उनको चुनावचिन्ह घन्टीमा आएको भोटलाई बदर मानेर दोस्रो स्थानमा रहेका नेकपा उम्मेदवार मातृका यादवलाई विजयी प्रमाणपत्र दिएको थियो तर हिवीबारको आदेशपछि यादवको प्रमाणपत्र खोसिनसक्ने अवस्था देखिएको छ ।
निर्वाचन आयोगले यादवले गरेको निर्णयविरुद्धमा साहले हालेको अर्को रिटको पेशी आज शुक्रबारलाई तोकिएको छ । विहीबार भएको अन्तरिम आदेश बमोजिम नै शुक्रबार पनि आदेश आएको खण्डमा यादवले पाएको प्रमाणपत्र रद्द हुन सक्ने बताइएको छ ।