काठमाडौं । ग्लोबल आईएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको सुरुवात गरेको छ । बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरेका हुन् ।
नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत बैंकले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका आफ्ना ग्राहकहरूलाई विशेष ग्राहयताका साथ एकद्वार प्रणालीमार्फत सेवा प्रदान गर्ने जनाएको छ । यो विभागबाट विदेशमा रहेका नेपालीहरूलाई सम्पूर्ण बैंकिङ सेवाहरू जस्तै बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङसम्बन्धी सेवाहरू प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापनलगायतका सेवाहरू उपलब्ध गराउने छ । विदेशमा रहेका नेपालीहरूलाई सेवा उपलब्ध गराउन बैंकले ग्राहकहरूलाई ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित यस विभागको कार्यालयमार्फत विभिन्न सेवाहरू उपलब्ध गराउने छ ।
विभिन्न देशमा रहेका नेपालीहरूको सेवामा सहजीकरणका लागि बैंकले सहायता कक्ष स्थापना गरी बैंकिङ सेवा सञ्चालन गर्नेछ । बैंकले भविष्यमा यस सेवा कक्षमार्फत ग्राहकहरूलाई २४ सै घण्टा सेवा प्रदान गर्नेछ । सन् २००७ मा स्थापना भएदेखि ग्लोबल आईएमई बैंकले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोराको सेवालाई निरन्तर प्राथमिकता दिँदै बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले विगत दुई दशकमा विश्वव्यापी रूपमा रेमिट्यान्स सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय बैंकहरूसँगको सहकार्य सुदृढीकरण, संयुक्त अधिराज्य, अस्ट्रेलिया र भारतमा प्रतिनिधि कार्यालय स्थापना, आप्रवासी–केन्द्रित बैंकिङ सेवाहरूको विकास तथा विभिन्न १० देशभन्दा बढी देशमा रहेका बैंकका कर्मचारीहरूमार्फत बैंकिङ सेवाहरू प्राथमिकतामा प्रदान गर्दै आएको छ ।
विदेशमा रहेका ग्राहकहरूले भौगोलिक दूरी वा भौतिक उपस्थितिको कुनै अवरोध विना नेपालमा सहज, झन्झटरहित बैंकिङ सेवा पाउनुपर्छ भन्ने बैंकको बुझाइ रहेको छ । अध्यक्ष ढकालले रोजगारी तथा अन्य कामको शिलसिलामा विदेशमा बसोबास गर्ने हरेक नेपाली नागरिक नेपालको विकास र प्रगतिका महत्वपूर्ण साझेदार रहेको र यस नयाँ विभागबाट बैंकले प्रदान गर्ने सेवाबाट विदेशमा बस्ने नेपालीलाई आफ्नो मातृभूमिसँग जोडिन थप सहयोग पुग्ने बताए । ‘यस नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत ग्लोबल आईएमई बैंकले विदेशमा रहेका नेपाली नागरिकहरूलाई उहाँहरूको आवश्यकता अनुरुप पूर्ण बैंकिङ सेवाहरू प्रदान गर्ने छ । यस विभागले विभिन्न सेवामार्फत उहाँहरूको सपना, लगानी र स्वदेशमा रहेका परिवारसँग जोड्न सहयोग पुर्याउने छ । नेपालीहरू जहाँ भए पनि सहज, द्रूत र पारदर्शी रूपमा पूर्ण बैंकिङ सेवा प्रदान गर्नेे यो हाम्रो महत्वपूर्ण प्रयास हो’, उनले भने । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस विभागबाट प्रदान हुने सेवाले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई नेपालसँग जोडिन थप सहज हुने बताए । ‘यस नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत ग्लोबल आईएमई बैंकले रेमिट्यान्स सेवाका अतिरिक्त विदेशमा रहेका नेपालीहरूलाई विदेशमा बस्दाकै बखत नेपालमा लगानी गर्न र उनीहरूको आवश्यकता तथा चाहनालाई पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ,’ उनले भने । उनले यस पहलसँगै ग्लोबल आईएमई बैंक विदेशमा रहेका नेपाली नागरिकहरूसँग पूर्ण तथा दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने नयाँ चरणमा प्रवेश गरेको बताए ।
कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, बरिष्ठ व्यवस्थापकहरूको उपस्थिती रहेको थियो । बैंकले आफूलाई अग्रणी रेमिट्यान्स साझेदार मात्र नभई नेपाली डायस्पोराका लागि भरपर्दोे बैंकिङ सेवा प्रदायकका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । यो विभागको कार्यालय ग्लोबल आईएमई बैंकको काठमाडौँको नक्सालस्थित केन्द्रीय कार्यालयमा रहने बैंकले जानकारी दिएको छ । साथै, विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले नन् रेसिडेन्ट एन्ड ओभरसिज बैंकिङ विभागमा प्रत्यक्ष फोन, इमेल, ह्वाट्सएप वा भाइबरको माध्यमबाट सम्पर्क गरी बैंकिङ सेवा लिन सक्नेछन् ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ । ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५२ वटा शाखा कार्यालय, तीन सय ७९ वटा एटीएम, एक सय ४७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।