काठमाडौं । नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रि (एनजीसीसीआई) ले युरोपमा नेपाली उत्पादन प्रवद्र्धन गर्न जर्मनीमा ट्रेडिङ हब स्थापना गर्ने भएको छ ।
फिनल्याण्ड दूतावास, नेपाल र एनजीसीसीआईबीचको बैठकमा नेपाली उत्पादनहरूको युरोपेली बजारमा पहुँच विस्तार गर्न र द्विपक्षीय आर्थिक संलग्नतालाई सुदृढ बनाउन ट्रेडिङ हब स्थापना गर्ने जनाईएको हो । बैठकमा एनजीसीसीआईका अध्यक्ष अध्यक्ष सन्तोष चन्द्र कुँवरले फिनल्याण्ड नेपालका लागि युरोपेली बजारमा प्रवेश गर्ने सम्भावित साझेदार र प्रवेशद्वार भएको बताए । जर्मनीमा ट्रेडिङ हब स्थापना गर्ने जानकारी दिँदै अध्यक्ष कुँवरले यसले नेपाल र फिनल्याण्डबीचको व्यापार तथा आर्थिक सम्बन्ध प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले फिनल्याण्ड युरोपेली संघभित्र महत्वपूर्ण र सम्भावनाशील देश भएको र नेपाल फिनल्याण्डसँग आफ्नो व्यापार सम्बन्ध मजबुत बनाउन इच्छुक रहेको बताए । हालको व्यापार सन्तुलन फिनल्याण्डको पक्षमा भएपनि द्विपक्षीय व्यापार मात्रा बढाउने पर्याप्त सम्भावना रहेको उनको भनाई थियो । ‘नेपाल फिनल्याण्डमा हस्तकला, ऊनी कार्पेट, रेडीमेड गार्मेन्ट्स, ऊनी सामान, काठ र बाँसका उत्पादनहरू निर्यात गर्छ । त्यसको बदला नेपालले फिनल्याण्डबाट टेलिकम्युनिकेशन उपकरण, मेसिनरी पाट्र्स, औद्योगिक कच्चा पदार्थ, मल र इलेक्ट्रिकल सामानहरू आयात गर्छ’, उनले भने ।
फिनल्याण्डका राजदूत पेत्रि पूहक्काले दुई देशबीचको व्यापार र आर्थिक संलग्नता हाल सानो रहेको बताए । उनले फिनल्याण्ड सरकारले जलवायु परिवर्तन, डिजिटलाइजेशन, ई–गभर्नेन्स, र विकास सहकार्यजस्ता क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएको उल्लेख गरे । उनले नेपाल र फिनल्याण्डबीच व्यापार र आर्थिक गतिविधिहरू थप विस्तार गर्ने ठूलो सम्भावना रहेको बताए । बैठकमा एनजीसीसीआईका सल्लाहकार डा. गोपाल प्रसाद तिवारीले फिनल्याण्डमा निर्यात प्रवर्द्धनका लागि प्रभावकारी सुविधा र व्यापारमा अवरोध नहुने सुनिश्चितता आवश्यक भएकोमा जोड दिए । फिनल्याण्ड दूतावासकी विकास सहयोग प्रमुख सारा एलानेनले व्यापार र आर्थिक सहकार्य सुदृढ बनाउन पहल गर्ने बताईन् । डिजिटलाइजेशन र जलवायु परिवर्तनका पहलहरूमा फिनल्याण्डको विकास सहयोगबारे उनले जानकारी दिएकी थिईन् ।