डोल्पा, भदौ ३०
यहाँको ठूलीभेरी नगरपालिका–८ मा पर्ने रूपगाढ खोलाको काठेपुल भाँच्चिएको छ । गत सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्य सामग्री बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्र्याक्टरको भार थाम्न नसकेर पुल भाँच्चिएको हो ।
बीचमा पुगेपछि काठको पुल भाँच्चिएपछि ट्र्याक्टर पनि बीचमै फसेको स्थानीयवासी बिर्खबहादुर रोकायले जानकारी दिए । पुल भाँच्चिएपछि सवारीसाधन आवतजावत ठप्प भएको छ । अब अत्यावश्यक कामले सदरमुकाम दुनै पुग्ने बिरामी र सर्वसाधारणलाई १३ किमी सडकमा दुई गाडी परिवर्तन गर्नुपर्ने भएको छ ।
तीन करोडको पुल खोइ ? तत्कालीन जिल्ला विकास समितिको तीन करोड रूपैयाँको लागतमा जिल्ला प्राविधिक कार्यालयले रेखदेख गर्नेगरी २०७३ सालमा पक्की मोटरेबल पुलको निर्माण सुरु गरिएको थियो । सो वर्ष टेण्डरमार्फत मित्र सञ्जीवनी कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर गौरी उप्रेतीले एक वर्षभित्रमा पुलको निमार्ण कार्य पूरा गर्नेगरी कामको जिम्मेवारी डोल्पाकै हिम बुढालाई दिएका थिए । पुल निमार्णको जिम्मेवारी पाएको मित्र सञ्जीवनी कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर उप्रेतीका डोल्पा प्रतिनिधि बुढाले काम गरेको रकमसमेत हालसम्म नपाएकाले काम रोकिएको बताए ।
निमार्ण व्यवसायी बुढाले पेश्कीस्वरूप लगेको रकमले स्थानीय ढुङ्गा, गिटी र बालुवा संकलन तथा पुलको दुवैतर्फको पिल्लर र खाल्डा खन्ने काममा खर्च भएको बताए । तत्कालीन जिविसबाट पुल निर्माण शीर्षकमा दुई करोड ७० लाखभन्दा बढी रकम भुक्तानी लिइसकेको स्रोतको दाबी छ । पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधि विसं २०७४ चैतसम्म भए पनि तीन पटक म्याद थप गर्दा समेत निर्माण पूरा भएको छैन ।
जोखिम मोलेर सवारी यात्रा समयमै पुल निमार्ण कार्य पूरा नहुँदा अहिले सदरमुकाम दुनै भित्रिने यातायातका साधनहरू जोखिम मोलेर काठकोे पुलमार्फत ओहरदोहर गरिरहेका छन् । काठको पुलबाटै गाडीहरू वारपार गर्दा कुनै दिन ठूलो मानवीय दुर्घटना हुनसक्ने जीप चालक सुशील कठायतले बताए । दुर्घटनापछि चिन्ता व्यक्त गर्नुभन्दा समयमै पुल निर्माण गरेर सहजरूपमा यातायात सञ्चालन गर्ने वातावरण मिलाउन उनले माग गरे । अघिपछिभन्दा बर्खायाममा खोला बढेको बेला वारपार गर्न एकदमै जोखिम हुने उनको भनाइ छ ।