नेकपा एमालेका उपाध्यक्ष तथा हालै सम्पन्न आम निर्वाचनमा उक्त दलका तर्फबाट चुनावी कमान्डर बनाइएका पूर्वमाओवादी नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का परिवार विवादमा परेका छन् । बादलमाथि पछिल्लो समय आफ्नै पूर्वसकर्मीमाथि इन्काउटरका नामा हत्या गरेको आरोपमा छानबिन हुने भएको छ ।
यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा उनकी पत्नी तथा तत्कालीन सांसद नयनकला थापामाथि तीन करोड रकम लिएको आरोप लागेको थियो । त्यस्तो बयान दिने सम्बन्धित कान्डका प्रमुख योजनाकार भनी चिनिने व्यक्ति यतिबेला पुर्पक्षका लागि थुनामा नै छन् । यो बयान सरकारी वकिलको कार्यालयमा भएको हो ।
उनका छोरा प्रतीक थापा पनि यही प्रकरणमा तीन करोड रकम लिएका भनी सम्बन्धितहरूका बयानकै आधारमा पक्राउ पुर्जी जारी भएको थियो । लामो सयम फरार रहेर पछि उनी आफैँ उपस्थिति भए । अहिले थुनामै छन् । बयानमा भनिएअनुसार छोरा प्रतीक थापामार्फत नै बादलपत्नीले मन्त्री निवासमा नै उक्त रकम लिएकी थिइन् । नयनकलामाथि थप अनुसन्धान भएको छैन ।
अहिले भने बाबु बादल नै नेकपा माओवादीको विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्या गरेको आरोपमा छानबिन हुने भएको छ । त्यसबेला उनी माओवादी कोटाबाट गृहमन्त्री थिए ।
गृहमन्त्री रहेकै बेला उनकै निर्देशनमा पौडेल मारिएका भन्ने जाहेरी परेको थियो । बादल र विप्लव पहिले एकै ठाउँ थिए । वाग्मती नगरपालिकाका मेयर भरत थापामाथि जनयुद्धका बेलामा लुटिएको रकम हिनामिना गरेको भनी विप्लवका कार्यकर्ताले यी मेयरमाथि गम्भीर आरोप लगाउँदै आएका बेला यस्तो हत्या भएको भन्ने आरोप छ ।
यस कारण उक्त समूहका कार्यकर्ता कुमार पौडेल पनि यिनकै सहयात्री भएर पनि उनैबाट मारिएका भन्ने उजुरीमा लेखिएको बताइन्छ ।
गएको बिहीबार सर्वोच्च अदालतले इन्काउन्टरका नाममा गरिएको यो हत्याकाण्डको छानबिन गर्न आदेश दिएको हो । सर्वोच्चको यो आदेशबाट अब प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलगायत विरुद्ध छानबिन गर्नुपर्नेछ । छानबिन गर्दा यो हत्या नै हो भन्ने देखियो भने बादल शक्तिमा बसेका बेला आफ्नै मित्रलाई हत्या गर्ने व्यक्तिका रूपमा चिनिनेछन् ।
उनकी पत्नी पनि शरणार्थी प्रकरणको अनुसन्धान भएमा अभियोगी नै साबित हुने देखिन्छ । यस्तै आरोपको छानबिन भएर नै अहिलेसम्म दुई दर्जन जति थुनामा रहेका अवस्था छ ।
सर्लाही लालबन्दीका कुमार पौडेलमाथि इन्काउन्टरको नाममा २०७६ साल असार ५ गते सुरक्षाकर्मीबाट गोली हानेर हत्या भएको थियो । त्यसबेला ओली सरकारका गृहमन्त्री थिए बादल । यो हत्याकाण्डको चौतर्फी विरोध भएपछि राष्ट्रिय मानव अधिकार आयोगका तत्कालीन आयुक्त गोविन्द पौडेलको संयोजकत्वमा छानबिन समिति बनाइयो । त्यसले सो घटनालाई हत्या नै हो भनी किटान गर्दै सबैलाई कानुनी दायरामा ल्याउन निर्देशनसहितको प्रतिवेदन दिएको थियो । तर त्यतिबेला सरकारका गृहमन्त्री बादल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यसलाई ढिसमिस पारिदिए । यसैलाई ब्युँताएर सर्वोच्चका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले गएको बिहीवार गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला प्रहरी कार्यालय, सर्लाही र जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका नाममा जाहेरी लिई तुरुन्तै अनुसन्धान गर्नू भनी परमादेश जारी गरेको हो ।
हत्या भएकै बेला मृतक पौडेलकी आमा दुर्गादेवी पौडेलले जाहेरी दिएकी थिइन् तर त्यसबेला प्रहरीले बुझ्नै मानेन । त्यसपछि तिनै आमाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । त्यसको करिब पाँच वर्षपछि न्यायाधीशहरूबाट यस्तो निर्देशन भएको हो । अब यो निर्देशनबाट पूर्वगृहमन्त्री एवं नेकपा एमालेको समानुपातिक सूचीका उम्मेदवार बादल र पूर्वप्रहरी महानिरीक्षक खनालसहितहरूमाथि फौजदारी अभियोगमा अनुसन्धान सुरु हुने छ ।
मानव अधिकार आयोगको अनुसन्धानले त्यसैबेला उनीहरूलाई दोषी देखाएको थियो । मारिएका पौडेलका परिवारजनले गैरन्यायिक हत्या भएको तर दोहोरो भिडन्त भनिएको भनी मानव अधिकार आयोगमा उजुरी परेको थियो । त्यहीअनुसारको छानबिनमा आयोगको टोलीले प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष निर्देशनमा खटिएको टोलीले पौडेलको हत्या गरेको पाइएको भनेर निष्कर्ष दिएको थियो । त्यसमा भनिएको छ, ‘पौडेललाई नियन्त्रणमा लिइएर गोली चलाइएको, नियन्त्रणमा लिएपछि अनावश्यक रूपमा बल प्रयोग गरी ९ गोली हानी मारिएको ।’
बादल परिवार मुछिएको घटना
नक्कली भुटानी शरणार्थी प्रकरण पछिल्लो कालखण्डको सबैभन्न्दा चर्चित काण्डका रूपमा स्थापित भएको छ । दुई जना पूर्वमन्त्री, एक जना बहावाला सचिव, यसअघिका गृहमन्त्रीका सुरक्षा सल्लाहकारलगायत यो प्रकरणमा तीन दर्जनजति त पक्राउ नै परे । यही प्रकरणमा पक्राउ परेका मुख्य योजनाकार मानिएका केशवप्रसाद दुलालले प्रधानमन्त्री निवास बालुवाटारमा नै पुगेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई एक करोड रुपैयाँ दिएको बयान दिएका छन् । बज्राचार्यलाई आफूले २०७६ असारमा बालुवाटारमा नै पुगेर एक करोड रुपैयाँ दिएको उनको दाबी छ ।
योसँगै दुलालले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई मन्त्री क्वाटर पुल्चोकमै पुगेर तीन करोड रुपैयाँ दिएको, बादलका छोरालाई २०७६ मा एक करोड रुपैयाँ दिएको, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई इन्द्रजित राईमार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमा २०७६ असारमा तीन करोड रुपैयाँ दिएको बयान दिएका थिए । यही बयानमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वसल्लाहकार डा. अजय क्रान्ति शाक्य र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका स्वकीय सचिव राजेश्वर स्थापितलाई मन्त्री क्वाटरमा एक÷एक करोड रुपैयाँ दिएको पनि बयानमा भनिएको छ । यही बयानभित्र परेकी छिन्, बादलपत्नी नयनकला थापा पनि । यो बयानमा आमाले पैसा लिएको भनेर छोरा प्रतीक थापाले पुष्टि गरेको कुरासमेत यसमा परेको छ ।
दुलाल बयानको सम्बन्धित अंश
प्रतिवादी सानु भण्डारीले डा. इन्द्रजित राईसँग त्रिपुरेश्वरमा रहेको आगन होटलमा भेट गरी उक्त रकम दिएको भनी मलाई भोलिपल्ट जानकारी गराउनुभएको र सोही दिन डा. इन्द्रजित राई, म र सानु भण्डारी ३ जना भएको अवस्थामा डा. इन्द्रजित राईले उक्त रकम मैले लिएको भनी मलाई समेत जानकारी गराएका हुन् । रकम दिएको भोलिपल्ट गृह मन्त्रालयमा रहेको डा. इन्द्रजित राईको कार्य कक्षमा म र सानु भण्डारी गएको अवस्थामा उक्त रकम मैले लिएको भनी जानकारी गराएका हुन् ।
प्रतिवादी सानु भण्डारीले निज नैनकला थापालाई समेत रकम दिएको भनी मलाई जानकारी गराएका हुन्, जानकारी पाएपछि सानु भण्डारी र म निज नैनाकला थापाका छोरा तत्कालीन गृहमन्त्री राम बहादुर थापा बादलका प्रमुख स्वकीय सचिव प्रतिक थापा मगरलाई नक्सालस्थित निलगिरी थकाली भान्साघरको आँगनको उत्तरतर्फ होटलको एक तलामाथि प्रतिक थापालाई भेटेपछि निज नैनकला थापालाई प्रतिक थापा मगरले आमालाई फोन गरी पैसा पाउनुभयो÷भएन भनी सोध्दा पैसा पाएको कुरा प्रतिक थापालाई भनेपछि मेरो आमाले सानु भण्डारीसँग उक्त रकम लिएको भनी जानकारी गराएका हुन् ।
प्रतिवादी सानु भण्डारीले उक्त रकम दिई सकेको भनी मलाई जानकारी गराएका र हामी दुवै जनाले गृह मन्त्रालयमा रहेको निजकै कार्यकक्षमा गई कुरा हुँदा सानु भण्डारीसँग उक्त रकम बुझिसकेको भनी मलाई समेत जानकारी गराएका हुन प्रतिवादी सानु भण्डारीले तत्कालन गृह सचिव प्रेम कुमार राईलाई उक्त रकम दिएको भनी मलाई जानकारी गराएपछि सानु भण्डारीसँग गृह मन्त्रालय गई डा. इन्द्रजित राईसँग सचिव प्रेमकुमार राईले उक्त रकम पाएको कुरा जानकारी गराएका हुन् । प्रतिवादी सानु भण्डारीले तत्कालीन नेपाल सरकारका ऊर्जा मन्त्री टोप बहादुर रायामाझी र निजको छोरा सन्दिप रायामाझी समेतलाई पटक–पटक नगद र बैंक खातामा समेत पठाई दिएको भनी मलाई सानु भण्डारीले जानकारी गराएको र पछि टोप बहादुर रायामाझीको सातदोबाटोमा रहेको घरमा सानु भण्डारी र म समेत गई वहाँहरूसँग रकम पाए÷नपाएको सम्बन्धमा बुझ्दा हामीले रकम पाइसकेका छौँ भनी जानकारी गराएका हुन् ।
सानू भण्डारीको बयान विवरण
त्यस्तै अर्का अभियुक्त सानू भण्डारीको बयानमा पनि यो विरण उल्लेख छ । उनले ‘मन्त्री क्वार्टरमै पुगेर बादल पत्नीलाई एक करोड बुझाएँ’ भनेका छन । उनको बयान र डायरीमा नोट भएको विवरणका आधारमा अरुमाथि अनुसन्धान भएकोे थियो । भण्डारीको बयान भन्दै त्यसबेला प्रकाशित समचार विवरणका अंश यस्ता छन् –
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार भनिएका सानु भण्डारीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनाकला थापालाई मन्त्री क्वार्टर पुलचोकमै पुगेर एक करोड रुपैयाँ दिएको बयान दिएका छन् । सुरुमा इन्कारी बयान दिएका भण्डारीले थप बयानमा भने थापालाई सो रकम बुझाएको बताएका हुन् । त्यस्तै, भण्डारीले तत्कालीन गृह सचिव प्रेमकुमार राईको गाडीमा एक करोड राखेको पनि दाबी गरेका छन् । भण्डारीका अनुसार इन्द्रजीत राईले ‘यो गाडी सचिव ज्यूको हो’ भन्दै उक्त रकम गाडीमा राख्न लगाएर सचिवको कार्यकक्षमा बोलाएका थिए । त्यसपछि राईले ‘अब तपाईंहरूको काम हुन्छ, तपाईंहरू जानु’ भनेर विश्वास दिलाएको भण्डारीको बयानमा उल्लेख छ । त्यस्तै, टोपबहादुर रायमाझीलाई २०७६ आसर २८ गते ललितपुरस्थित उनको घरमा गई १ करोड ६० लाख दिएको र बाँकी ४० लाख रुपैयाँ उनको छोरा सन्दीप रायमाझीलाई भुक्तान गरेको बताएका छन् ।
त्यस्तै, भण्डारीको डायरीमा उल्लेख भए अनुसार २०७४/१/४ देखि २०७४/१२/३० सम्म पटक ६९ लाख ६५ हजार ५०० रुपैयाँ सन्दीप रायमाझीलाई दिएको पनि स्वीकार गरेका छन् । टोपबहादुर रायमाझीले आफू र आफ्नो परिवारलाई समेत भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु, त्यसको लागि रकम दिनुपर्छ भनेको हुँदा सो रकम बुझाएको बयानमा जिकिर गरेका छन् । सो डायरीमा २०७३/१२/१० देखि २०७४/२/१० सम्म ३ पटक गरी टोपबहादुर रायमाझीले पाँच लाख ४५ हजार रुपैयाँ लिएको पनि उल्लेख गरिएको छ । त्यो पनि भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने प्रयोजनका लागि नै बुझाएको भण्डारीले थप बयानमा स्वीकार गरेका छन् ।
त्यसैगरी डायरीमा उल्लेख भएअनुसार २०७६/३/२ गते इन्द्रजीत राईका छोरा निरज राईलाई ५० लाख रुपैयाँ, २०७६/३/२३ मा ३५ लाख रुपैयाँ र २०७६÷३÷२६ मा निरज राई र इन्द्रजीत राईलाई ६५ लाख रुपैयाँ दिएको कुरा पनि सानु भण्डारीले स्वीकार गरेका छन् । उनले डायरीमा हिसाबपछि सम्झाना हुन्छ भनेर टिपेको बयानमा बताएका छन् ।