काठमाडौं । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लब अधिकारीले नेपालमा उत्पादित औषधिको गुणस्तरमा शंका नगर्न आग्रह गरेका छन् ।
संघको आयोजनामा सञ्चालित तीनदिने नेपाल फार्मा एक्स्पो २०२६ समापन कार्यक्रममा उनले नेपालमा उत्पादित औषधि गुणस्तरीय रहेको बताए । उनले नयाँ प्रविधिहरूलाई आत्मसात् गरेर नेपाली औषधि उद्योगहरूले औषधि उत्पादन गरिरहेको पनि जानकारी दिए । उनले भने, ‘विश्व परिवेशमा औषधि बनाउनका लागि कस्ताखालका प्रविधि विकास भएका छन् ? नयाँ आविष्कार भएका नयाँ प्रविधिहरूलाई आत्मसात् गरेर नेपाली औषधि बनाइरहेका छौँ ।’ उनले नेपालमा विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास दिलाउन एक्स्पो आयोजना गरिएको बताए । एक्स्पोका संयोजक शैलेश वैद्यले जनताको सामू अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरको औषधि बनाइरहेको जानकारी गराउन एक्स्पो सफल भएको बताए । उनका अनुसार तीन दिनमा २५ हजार बढीले एक्स्पो अवलोकन गरेका छन् । एक्स्पोमा दुई सयभन्दा बढी प्रदर्शनी कक्ष थिए भने कुल प्रदर्शनी कक्षमध्ये ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता थियो । साथै विश्व बजारमा आएका नवीनतम कच्चा पदार्थ, प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरीहरू प्रदर्शन गरिनुका साथै स्वदेशी औषधि उद्योगका प्रगति र उत्पादन पनि राखिएको थियो । ‘फार्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल सन्देशका साथ यही फागुन २८ गतेदेखि सुरु भएको दशौँ संस्करणको एक्स्पो शनिबार सकिएको हो । संघले प्रत्येक दुई वर्षमा एक्सपो आयोजना गर्ने गरेको छ ।