काठमाडौं । स्नो रिभर्स लिमिटेडले साधारण सेयरको बिक्री आहृवान गरेको छ । कम्पनीले पहिलो चरणमा यही चैत्र नौ गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेकाहरुको लागि साधारण सेयरको बिक्री आहृवान गरेका हुन् ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर बिक्रीको लागि अनुमति पाएको छ । सो मध्ये पहिलो चरणमा जारी पुँजीको १० प्रतिशत अर्थात् नौ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको नौ लाख ३७ हजार पाँच सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीहरुको लागि बिक्री गर्न लागेको हो । सो मध्ये अति प्रभावित क्षेत्र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–८ का स्थानीयलाई चार लाख ६८ हजार सात सय ५० कित्ता र आयोजना प्रभावित क्षेत्र सिरीजङ्गा गाउँपालिका–१ देखि ७ सम्म, सिदिङ्वा गाउँपालिका–५ र ६, पाथिभरा याङवारक गाउँपालिका–५ र ६ र पाँचथरको हिलिहाङ गाउँपालिका–१ का स्थानीयलाई चार लाख ६८ हजार सात सय ५० कित्ता सेयर छुट्याइएको छ । यसैगरी सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ९३ हजार सात सय ५० कित्ता सेयर श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीको लागि बिक्री आहृवान गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको साधारण सेयरमा न्यूनतम १० कित्ता सेयर खरिदको आवेदन दिन सकिने छ । सो आयोजना प्रभावित क्षेत्रको हकमा अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा क्रममा रहेका नेपाली नागरिकको हकमा अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सकिने छ । साधारण सेयर खरिदको लापग आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा चैत २३ गतेसम्म र सो अवधिमा पूर्ण बिक्री नभएमा २०८३ वैशाख ८ गतेसम्म आवेदन दिने समय लम्बिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।