जलेश्वर (महोत्तरी) । महोत्तरीको रामगोपालपुर नगरपालिका–८ बाट गएराति करिब ११ बजे पूर्वपश्चिम लोकमार्ग हुँदै भारततर्फ गाँजा लैजाँदै गरेको गोप्य सूचनाको आधारमा नेपाल प्रहरीले १०९ किलोग्राम गाँजासहित एक भारतीय नम्बर प्लेटको कारलाई नियन्त्रणमा लिएको छ ।
लागु औषध ब्युरो र ईलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले गाँजासहित कार नियन्त्रणमा लिएका हुन् ।
सहसौला चोक नजिकबाटै २० वटा पोकामा लुकाएर भारततिर लैजाँदै गरेको अवस्थामा डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी गराए ।
प्रहरीले बरामद गाँजा र कारलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक शर्माले बताए । कार चालक फरार रहेको प्रहरीको भनाइ छ ।