जेनजी आन्दोलनबारे गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।जेनजी प्रतिनिधिहरू रक्षा बम, माजिद अन्सारीलगायतको समूहले सोमबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। उनीहरूले पोस्टर र पम्प्लेटसहित उपस्थित भई सरकारले यथाशीघ्र आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेका थिए। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको जाँचबुझ आयोगले गत फागुन २४ गते सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो।तर उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन। वर्तमान सरकारले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने विषयमा पनि स्पष्टता नआएको प्रदर्शनकारीहरूको भनाइ छ। प्रदर्शनमा सहभागीहरूले जनताको चासो र सरोकारसँग जोडिएको विषय भएकाले प्रतिवेदन ढिलाइ नगरी सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन्।