काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले आफ्नो मोबाइल एपको परिमार्जित संस्करण आइफोनमा पनि उपलब्ध गराएको छ ।
प्रतिष्ठानले समयसापेक्ष प्रविधिको प्रयोग गर्दै सेवालाई सहज, छिटो र पारदर्र्शी बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याएको थियो ।
प्रतिष्ठानमा आउने सेवाग्राहीको सुविधाका लागि सञ्चालनमा ल्याइएको ‘विपीकेआईएसएस एप’ अब एप्पलको आईओएस प्लेटफर्ममा पनि सार्वजनिक गरिएको हो । यसअघि एन्ड्रोइड प्रणालीमा मात्र उपलब्ध यो सेवा अब आइफोन प्रयोगकर्ताहरूले समेत उपभोग गर्न पाउनेछन् । एपमार्फत सेवाग्राहीले घरमै बसेर जनरल ओपीडीको नयाँ दर्ता तथा फलोअपका लागि नाम दर्ता गर्न सक्ने प्रतिष्ठानले जनाएको छ । अनलाइनमार्फत दर्ता भएका बिरामीहरूलाई अस्पतालको ओपीडी टोकन प्रणालीमा अग्रता दिइनेछ भने बिलिङ्ग सेवामा समेत प्राथमिकता दिइने छ । सेवाग्राहीले एप्पल मोबाइलको एप स्टोरबाट डाउनलोड गरी यो सुविधा लिन सक्नेछन् ।
हाल प्रारम्भिक चरणमा प्रत्येक विभागका लागि दैनिक २० जना बिरामीको अनलाइन दर्ता कोटा निर्धारण गरिएको छ । सेवाग्राहीको माग र प्रणालीको कार्यक्षमताका आधारमा यो संख्या क्रमशः वृद्धि गर्दै लगिने प्रतिष्ठानको योजना रहेको छ । आगामी दिनमा यो एपलाई अझै परिष्कृत बनाउने गरी प्रयोगशाला तथा रेडियोलोजी सेवाका रिपोर्टहरू एपबाटै हेर्न र प्रिन्ट गर्न सकिने सुविधा थपिने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ । साथै, पेइङ्ग ओपीडी दर्ता र स्वास्थ्य बीमा बोर्डबाट अनुमति प्राप्त भएपश्चात् बीमामार्फतको ओपीडी दर्तालाई पनि एपमै समेटिने समेत प्रतिष्ठानको योजना रहेको छ । विरामी सेवामा सदैव समर्पित र कटिबद्ध बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा हुने भीड व्यवस्थापन गर्न बिरामीको समय बचत गर्न तथा सहज उपचार उपलब्ध गराउन यो प्रविधि कोशेढुङ्गा साबित हुने विश्वास लिएको छ ।