हङकङ । मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेपछि एसियाका विभिन्न देशहरूमा इन्धन अभाव र असन्तुष्टि देखिन थालेको छ । एएफपीका अनुसार बंगलादेशमा अवस्था अझ तनावपूर्ण बनेपछि प्रमुख तेल डिपोहरूको सुरक्षा गर्न सैनिक तैनाथ गरिएको छ ।
तेल आयातमा अत्यधिक निर्भर बंगलादेशले आफ्नो ऊर्जा आवश्यकताको करिब ९५ प्रतिशत बाहिरबाट ल्याउँछ । इन्धन अभावको आशंकासँगै राजधानी ढाकासहित विभिन्न स्थानका पेट्रोल पम्पहरूमा लामो लाइन देखिएको छ । सुरक्षा व्यवस्थालाई कडा बनाउन सेनालाई मुख्य डिपोहरूमा राखिएको छ भने पेट्रोल पम्प वरपर प्रहरी गस्ती बढाइएको छ ।
ढाकाको एक पेट्रोल पम्पका कर्मचारी अशरफुज्जमान दुलालले आपूर्ति नपुग्दा आक्रोशित मोटरसाइकल चालकहरूले स्टेसनमा तोडफोड गरेको बताए । उनका अनुसार डिपोबाट इन्धन नआएको जानकारी दिए पनि चालकहरू आश्वस्त नभएपछि आइतबार हिंसात्मक घटना भएको थियो । मंगलबार राजधानीको सबैभन्दा पुरानो स्टेसनमध्ये एक शाहजहाँ ट्रेडर्सले आफ्नो इन्धन सकिएको भन्दै ग्राहकसँग क्षमा माग्दै सूचना टाँसेको थियो ।
सत्र करोड जनसंख्या भएको बंगलादेश सरकारले स्थिति नियन्त्रणमा राख्न इन्धन राशनिङ सुरु गरेको छ । ऊर्जा अभावका कारण विद्यार्थीहरूलाई घर पठाइएको छ भने सार्वजनिक उत्सवमा हुने प्रकाश प्रदर्शनहरू पनि रद्द गरिएको छ । यसैबीच दक्षिणी जिल्ला झेनैदाहमा शनिबार राति इन्धन भर्ने विषयमा कर्मचारीसँग भएको झडपमा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । २५ वर्षीय युवाको मृत्युपछि आक्रोशित भीडले तीनवटा बसमा आगजनी गर्नुका साथै एउटा फिलिङ स्टेसनमा तोडफोड गरेको थियो ।
ढाकाको सिटी सेन्टरमा मंगलबार करिब १.५ किलोमिटर लामो सवारीको लाइन देखिएको थियो । गाडीमा लामो समयदेखि पर्खिरहेका कामरुल हसनले आफ्नो मालिकले कार लाइनमै छोडेर गन्तव्यमा पुग्न रिक्सा प्रयोग गरेको बताए । पेट्रोल पम्पका कर्मचारी अख्तर हुसेनका अनुसार घण्टौँसम्म भीड नघट्ने अवस्था छ । ‘खाडी युद्धको समयमा पनि हामीले यति ठूलो भीड देखेका थिएनौँ’, उनले भने ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिका–इजरायल युद्ध ‘छिट्टै अन्त्य हुन सक्ने’ बताएपछि मंगलबार तेलको मूल्य केही घटेको छ । तर त्यसअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको थियो ।