नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ २० जनाको नाम तय गरी निर्वाचन आयोगमा पठाएको छ।फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको थियो। आज केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फ २० सिटमा १५ महिला र ५ पुरुषको नाम सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए। उनका अनुसार शेरबहादुर देउवा सभापति हुँदा तयार पारिएको बन्दसूचीबाटै २० जनाको नाम अहिले सिफारिस गरिएको हो।प्रवक्ता चालिसेले समानुपातिकतर्फ सिफारिस गरिएका नामहरूको विस्तृत विवरण निर्वाचन आयोगले पछि सार्वजनिक गर्ने पनि बताए। उनका अनुसार संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा) गरी ६२ सिटमा कांग्रेसको प्रतिनिधित्व रहनेछ। त्यसमध्ये २१ सिटमा महिलाको प्रतिनिधित्व अनिवार्य हुने भएकाले अहिले समानुपातिकतर्फ २० जनाको नाम पठाउँदा १५ जना महिला समेट्नुपर्ने भएको उनले बताए।यो निर्वाचन प्रक्रियाअनुसार गरिएको निर्णय भएको उल्लेख गर्दै उनले कुनै क्लस्टरमा आवश्यक परे मिलान गर्न सकिने पनि बताए। यसअघि आयोगमा पठाइएको बन्दसूचीमा भने फेरबदल गर्ने सुविधा नहुने उनको भनाइ छ। यस्तै, कांग्रेसले चुनावी समीक्षा गर्न यही साता केन्द्रीय समिति बैठक पनि बस्ने जनाएको छ।