काठमाडौं । नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । उनलाई आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंको सीतापाइलाबाट पक्राउ गरेको जनाएको छ ।
उनीसमेतले नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडसँग सम्बद्ध रही अनियमित एवं गैरकानुनी तवरले निक्षेपकर्ता एवं संस्थाको हितविपरीत हुने कार्य गरी बैंकिङ कसुरमा संलग्न रहेकोले नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले अनुसन्धान तथा आवश्यक कारबाही गर्न सीआईबीलाई पत्राचार गरेको थियो ।
सोसँगै सीआईबीले अनुसन्धान गरी मुद्दा दायर गरेकामा सर्वोच्च अदालतले २०८१ भदौ ५ गते फैसला गर्दै दुईवटा मुद्दामा क्रमशः १९ करोड ४६ लाख एक हजार छ सय ६२ रुपैयाँ ३९ पैसा जरिबाना तथा ३ वर्ष कैद र तीन करोड २१ लाख ३९ हजार छ सय ८१ रुपैयाँ ५१ पैसा जरिबाना तथा तीन वर्ष कैद गरी कुल जम्मा २२ करोड ६७ लाख ४१ हजार तीन सय ४३ रुपैयाँ ९ पैसा जरिबाना र ६ वर्ष कैद सजाय हुने ठहर गरेको थियो । तर श्रेष्ठ फरार थिए ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको सीआईबीले जनाएको छ । उनी काठमाडौंको नागार्जुन ५ सीतापाइलाका स्थायी बासिन्दा हुन् ।