मानिस स्वतन्त्र छ । संविधान र कानुनको परिधिभित्र रहेर जो कोहीले आफ्नो पेशा वा व्यवसाय सञ्चालन गर्न सक्दछन् । विकसित मुलुकहरूमा जुनसुकै पेशा वा व्यवसायलाई समान रुपमा हेरिएको हुन्छ । भेदभाव गर्ने अवस्था नै हुँदैन । जुनसुकै पद वा काम गर्ने भए पनि सबैलाई एउटै दृष्टिकोणबाट हेरिन्छ । सानो ठूलो भनिँदैन । तर, नेपाल जस्ता अतिकम विकसित देशहरूमा भने भिन्न किसिमले हेर्ने गरेको देखिन्छ ।
यहाँ प्रसंग छ सेयरबजारको । अझै पनि नेपालमा सेयरबजार ईज्जतको व्यवसाय बन्न सकेको छैन । त्यसकारण सेयरबजारमा धेरै सुधारको आवश्यकता देखिन्छ । जसरी सम्बोधन गरे पनि केही फरक नपर्नु पर्ने हो । तर हामीकहाँ भने फरक भएको पाइन्छ । विकसित देशहरूमा सेयर खरिद बिक्रीलाई एउटा सम्मानित र वृत्ति विकासको रुपमा लिइएको हुन्छ । तर, हामी कहाँ भने त्यस प्रकारको अवस्था निर्माण भइसकेको छैन । यसो हुनुमा मानिसको बुझाइको कमजोरी अथवा अज्ञानता नै हो ।
तर, अहिले यसमा धेरै परिवर्तन आएको अवस्था छ । मानिसले यसको महत्व बुझ्दै आएको छ । विकासको लागि आवश्यक हुने पुँजी निर्माण, परिचालन , लगानी जस्ता अवयवहरूबाट प्राप्त हुने लाभको कारणबाट विकसित एवं विकासशील मुलुकहरूलाई सेयरबजारले धेरै फाइदा दिएको छ । विश्वमा धनी व्यक्तिहरू पनि यही व्यवसायबाट धनी भएका प्रशस्त उदाहरण देखिन्छन् ।
यति हुँदाहुँदै पनि नेपालमा भने परिपक्व सेयरबजार हुन सकेको छैन । कहिले विचौलियाको चलखेल भनिन्छ भने कहिले अदृश्य शक्ति भन्ने गरिन्छ । कहिले सरकार त कहिले नियामक निकायलाई दोष दिने गरिन्छ । कतिपय अवस्थामा सरकारको कमजोरी भन्ने पनि गरिन्छ । जे भए पनि नेपालको सेयरबजारसँग सम्बन्ध भएका सबै पक्षको केही न केही कमी कमजोरी निश्चय नै रहेका छन् । तिनीहरूको उपयुक्त किसिमले सम्बोधन गरेर समस्या निराकरण गर्नु पर्दछ ।
नेपालमा सेयरबजारलाई एकदम हलका रुपमा लिएको देखिन्छ । तर यो ज्यादै संवेदनशी क्षेत्र हो । यसमा लगानीकर्ताको ठूलो रकम प्रवाह भएको हुन्छ । यही रकमको परिचालनबाट देशको अर्थतन्त्र चलायमान भएको हुन्छ । देशको कुनै कुनामा एउटा सानो परिवर्तन भएको अवस्थामा समेत सेयरबजारमा असर पर्न सक्दछ । अर्थमन्त्रीको बारेमा कुरा गर्नुहोस् वा नेपाल राष्ट्र बैंकका गभर्नरको बारेमा कुरा गर्नुहोस् अथवा कुनै नियामक निकायको बारेमा कुरा गर्नुहोस् । उनीहरूले देशको अर्थतन्त्र वा सेयरबजारको विषयमा सानो टिप्पणी गर्दैमा पनि त्यसको प्रत्यक्ष असर सेयरबजारमा परिहाल्छ । यस्तै गरेर अन्तर्राष्ट्रिय बजारमा आएको परिवर्तनले समेत नेपालको सेयरबजारमा धक्का दिएकै हुन्छ । यस्तो संवेशनशील क्षेत्रलाई सरकार, सरोकार पक्ष , नियामक निकाय तथा सर्वसाधारणले समेत सकारात्मक सोचाइ राख्नुपर्नेमा त्यस्तो नभएको अहिलेको अवस्था हो ।
सेयरबजार यसै संवेदनशील क्षेत्र हो त्यसमा पनि अहिले डिजिटलाइजेसले झनै संवेदनशील बनाएको देखिन्छ । मानिसले नगदमा कारोबार गर्दा निकै सतर्क हुनुपर्दथ्यो । तर अहिले प्रविधिको विकासले गर्दा घरमै बसेर एक क्लिक्को भरमा ठूलो आर्थिक कारोबार गर्न सकिन्छ । कतिपय लगानीकर्ता उत्तेजनामा आएर खरिद बिक्री पनि गर्दछन् । यो उनीहरूलाई कानुनले दिएको सुविधा हो । कसैले हस्तक्षेप गर्न सक्दैन । यद्यपि यस्ता कुराहरूमा पुँजी बजारको साक्षारताको कमी अवश्य नै रहेको छ । यहाँ भन्न खोजिएको कुरा के हो भने सेयरबजार ज्यादै सेन्सेटिभ भएको हुनाले यसलाई प्रभावकारी ढंगले बढी संयमतापूर्वक परिचालन गर्नु पर्दछ अन्यथा यस्ता कुराहरूले पनि राष्ट्रिय अर्थतन्त्रमा असर पार्न सक्दछन् ।
वर्तमान अवस्थामा सेयरबजारमा निकै उतारचढाब आउने गरेको देखिन्छ । ठूला घटनाहरूले परिवर्तन ल्याउनुलाई ठीकै मानिए पनि सानातिना घटनाहरूले प्रभाव पार्नुलाई राम्रो मान्न सकिदैन । यस्ता घटनाहरूले यदि सेयरबजारलाई असर पार्ने हुन्छन् भने अपरिपक्व सेयरबजार भन्नु पर्दछ । तर, जेनजी आन्दोलनले पारेको असरलाई भने स्वभाविक रुपमा स्वीकार्नु पर्दछ । यो आन्दोलनले सरकारी एवं निजी क्षेत्रमा ठूलो क्षति पु¥यायो । क्षतिको पूरा विवरण आउन बाँकि भए पनि २ खर्बभन्दा बढी क्षति पुगेको प्रारम्भिक अनुमान छ । यसमा अझ मानवीय क्षति झनै अपूरणीय छ । ७६ जनाको त मृत्यु नै भएको अवस्था छ । यस्तो अवस्थामा सेयरबजार ओरालो लाग्नु स्वाभाविक नै हुन आउँछ । जेनजी आन्दोलनको कारणबाट ओरालो लागेको सेयरबजार अहिलेसम्म लयमा आउन सकेको छैन । निश्चय नै यस्ता गम्भीर प्रकृतिका घटनाहरूले सेयरबजारलाई धक्का दिएकै हुन्छन् ।
अधिकांश मानिसको बुझाइमा सेयरबजारलाई नकारात्मक रुपमा लिएको पाइन्छ । तर, त्यस्तो कदापि होइन । यसले सकारात्मक पक्ष पनि लिएको हुन्छ । नकारात्मक बनाउने त मानिसको प्रवृत्तिको कुरा हो । सेयरबारे ज्ञान, अध्ययन, चेतना आदि कुराहरूको अभावमा नकारात्मकता आउने हुन् । सेयरबजार अर्थशास्त्रको एउटा विधा हो जसले आफ्नो बाटो लिनै पर्दछ । यसलाई प्रतिकूलता बनाउने सेयरबजार आफैँ होइन । अन्य पक्ष हुन सक्दछन् । हामीले के बुझ्नुपर्दछ भने, सेयरबजार भनेको रुखबाट पाकेको फल टिप्नु जस्तो सजिलो पनि होइन । सेयरबजारमा लगानी गर्ने वित्तिकै फाइदै फाइदा हुन्छ भन्ने जुन भ्रम लगानीकर्तामा परेको छ त्यो नै गलत भाष्य हो । लगानी गर्दा एउटा पक्षलाई मात्र हेरेर हुँदैन धेरै पक्षमा अनुमान लगाउनु पर्दछ । सेयरबजारमा लगानी गर्नु भनेको लगानीकर्ताको अनुमान, संस्थाको क्षमता, सरकारको नीति आदि कुरामा भर पर्दछन् । यी सबै कुराको संयोजन गर्न सक्ने लगानीकर्ता नै सफल लगानीकर्ता हुन सक्दछ ।
सेयरबजारलाई प्रभाव पार्ने काम राज्यको तर्फबाट हुने ठूला–ठूला निर्णयबाट पनि हुने गर्दछन् । जेनजीको आन्दोलनले सेयरबजारलाई कमजोर बनाएको थियो भने आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनले सेयरबजारलाई सकारात्मक दिशातर्फ लगिरहेको अहिलेको अवस्था हो । देशको अवस्था सकारात्मक हुँदै गयो भने सेयरबजार स्वतः राम्रो हुँदै जाने हो । अहिले देशमा निर्वाचनको माहौल बन्दै गएको कारणले गर्दा सेयरबजार पनि माथि गइरहेको अवस्था छ ।
सेयरबजार आफैँमा केही होइन । यसको अर्थ आफैँ तलमाथि हुने होइन । यसलाई बढाउने अथवा झार्ने भनेको त कम्पनिको अवस्था, सार्वजनिक नीति , आर्थिक नीति, वित्त नीति, मौद्रिक नीति, स्वदेशभित्र वा बाहिर घटेका घटनाहरूले पनि सेयरबजारलाई असर पारेका हुन्छन् । आर्थिक, राजनीतिक, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पक्षहरूसंग सेयरबजार जोडिने भएको हुँदा यी पक्षहरूमा केही परिवर्तन हुनासाथ सेयरबजारमा स्वतः उतारचढाव भई नै हाल्छ । यसकारण कुनै पनि लगानीकर्ताले कुनै एक पक्षलाई मात्र आँकलन गरेर लगानी गर्नु हुँदैन । धेरै पक्षमा विचार पुर्याउनु पर्दछ ।
अहिलेको अवस्थामा नेपालको सेयरबजार राजनीति पक्षसँग जोडिएको छ । किनभने फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । निर्वाचनमा भाग लिएका विभिन्न दलहरूले आ–आफ्ना घोषणापत्रहरूमा विभिन्न प्रकारले आर्थिक नीति निर्माण गर्ने प्रतिबद्धता उल्लेख गरेका छन् । निर्वाचन पछि सरकारमा आउने यिनै राजनीतिक दलहरू हुने भएकाले अर्थतन्त्रले गतिलिन सक्ने अनुमान लगानीकर्तामा हुनु स्वाभाविक नै हो । यसैले गर्दा अहिले सेयरबजारमा सुधारका संकेत देखापर्न थालेका छन् । निश्चय नै अब आउने सरकारले राजनीतिक स्थायित्व प्राप्त गर्न सक्नेछ र लागु गरिएका आर्थिक नीति तथा अन्य नीतिहरू देशको आर्थिक विकासमा उपलब्धिमूलक हुनसक्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । आशा गरौँ परिवर्तित सन्दर्भमा नेपालको सेयरबजारले फड्को मार्न सक्ने संकेत देखापर्न थालेको हुनाले नै सेयरबजारले गतिलिन थालेको हो । त्यसकारण बढ्दै गएको सेयरबजार निर्वाचन पछि झनै बढ्ने अनुमान गर्न सकिन्छ । अतः सेयरबजारमा लगानी गर्ने भनेको नै अहिलेको उपयुक्त समय हो ।