काठमाडौं । कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कम्पनीका अनुसार यो अभियन नेपालभरि चल्ने पहिलो कार्यक्रम हो । नेपालीहरूको मनपर्ने परिकार मोमोप्रतिको स्नेहलाई उत्सवका रुपमा मनाउन यो अभियान आयोजना गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार मोमो यस्तो परिकार हो, जसले सडक, घर र सहरका मानिसहरूलाई एकअर्कासँग नजिक हुन मद्दत गर्छ । यस अभियानको मुख्य आकर्षण नयाँ डिजिटल कार्यक्रम पनि रहेको कम्पनीले जनाएको छ । यसले देशभर घुम्दै नेपालका सबैभन्दा लोकप्रिय मोमो पाइने स्थानहरू खोज्नेछ । यस अभियानमा सहरका चर्चित रेस्टुरेन्टदेखि लिएर टोल–छिमेकमा लुकेका तर उत्कृष्ट मोमो पसलहरूसम्म पुग्ने, नेपालमा मोमोको समृद्ध संस्कृतिलाई चिनाउने र ती स्थानका विशेष स्वादहरू चाख्ने अवसर दिने तथा पसल सञ्चालन गर्ने उत्साही व्यवसायीहरूसँग भेट्न र हरेक स्थानलाई विशेष बनाउनेलगायतका अनौठा कथाहरू पनि प्रस्तुत गरिनेछ ।
कम्पनीका अनुसार नेपालमा मोमो र कोकाकोला लामो समयदेखि धेरैले मन पराउने खानाको जोडी बनेको छ । साथीहरूसँग छिटो खाजाका रूपमा, परिवारसँग घुम्न जाँदा वा राति अबेर खाना खान जाँदा मोमो र कोकाकोला धेरैका लागि प्रिय छनौट हो ।
अभियानअन्तर्गत देशभरका उपभोक्ताहरूले पनि सहभागी हुने अवसर पाउनेछन् । अभियानका लागि बनाइएको विशेष माइक्रोसाइटमार्फत मानिसहरूले आफ्नो मनपर्ने मोमो पसल खोज्न, मूल्यांकन गर्न र आफ्ना मोमो खाँदाका अनुभवहरू व्यक्त गर्न सक्नेछन् । सहभागीहरूले फोटो वा अनुभव अपलोड गर्न, रेस्टुरेन्टलाई रेटिङ गर्न र विभिन्न गतिविधिमा सहभागी हुन सक्नेछन्, जसबाट दैनिक, साप्ताहिक तथा विशेष पुरस्कार जित्ने मौका पनि हुनेछ ।
यो अभियानमा नेपालभरका दुई सयभन्दा बढी मोमो पसल सहभागी छन् । ‘मोमो फोमो’ले नेपालको सबैभन्दा प्रिय खानामध्ये एक मोमोको विषयमा राष्ट्रिय स्तरमा उत्साह सिर्जना गर्दै स्थानीय खानाका नयाँ स्वादहरू खोज्न, यसका नायकहरूलाई सम्मान गर्न र मोमो तथा कोकाकोलाको लोकप्रिय संयोजनको आनन्द लिन सबैलाई प्रेरित गर्ने लक्ष्य राखेको छ ।