काठमाडौं । स्मार्टफोन ब्रान्ड ओप्पोले नेपाली नयाँ वर्षलाई लक्षित गर्दै ‘ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग’ अभियान सार्वजनिक गरेको छ । यस अभियानमार्फत साप्ताहिक रूपमा आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिनुका साथै बम्पर पुरस्कारमा रोयल इन्फिल्ड हन्टर ३५० जित्ने अवसर पाइनेछ ।
कम्पनीका अनुसार यो अभियान चार हप्तासम्म चल्नेछ । अभियान अवधिमा ओप्पो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लक्की ड्रमा सहभागी भई विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । अभियान अवधिभर प्रत्येक हप्ता एक जना भाग्यशाली ग्राहकलाई साप्ताहिक लक्की ड्रमार्फत ओप्पो ए६ स्मार्टफोन प्रदान गरिनेछ । लक्की ड्र तालिकाअनुसार पहिलो हप्ता चैत्र ८ (आइतबार), दोस्रो हप्ता चैत्र १५ (आइतबार), तेस्रो हप्ता चैत्र २२ (आइतबार) र चौथो हप्ता चैत्र २९ (आइतबार) मा लक्की ड्र सञ्चालन हुनेछ, जसअन्तर्गत प्रत्येक हप्ता एक–एक वटा ओप्पो ए६ स्मार्टफोन प्रदान गरिनेछ । कम्पनीका अनुसार लक्की ड्र कम्पनीका आधिकारिक सामाजिक सञ्जाल प्लेफर्महरूमार्फत भिडियो लटरी प्रणालीद्वारा सञ्चालन गरिनेछ ।
अभियानको समापन नेपाली नयाँ वर्षको अवसरमा चैत्र ३० मा आयोजना हुने बम्पर ड्रसँगै हुनेछ । यस बम्पर ड्रमार्फत एक जना भाग्यशाली विजेताले रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकल प्राप्त गर्ने कम्पनीले जनाएको छ । ओप्पो नेपालका अनुसार नेपाली नयाँ वर्ष नवीनता, उत्सव र नयाँ सुरुवातको प्रतीक हो । ‘ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग’ अभियानमार्फत कम्पनीले आफ्ना ग्राहकसँग उत्सवको खुशी साटासाट गर्न, अविस्मरणीय अनुभव सिर्जना गर्न तथा उनीहरूको निरन्तर समर्थनप्रति धन्यवाद व्यक्त गर्न चाहेको जनाएको छ ।