काठमाडौं । नेपालबाट एकै महिनामा हजारौँ नेपाली कामको खोजीमा विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार ५२ हजार नौ सय ४४ युवा अशान्ति छाएको पश्चिम एसियालगायतका देशहरूमा रोजगारीका लागि बाहिरिएका हुन् ।
विभागले फागुनमा ४६ हजार चार सय ५२ पुरुष र छ हजार चार सय ९२ महिलालाई श्रम स्वीकृति दिएको जनाएको छ । यसमा उच्च दक्ष ५० जना, व्यावसायिक १७९, अर्धदक्ष सात हजार नौ सय ३८, दक्ष ३१ हजार दुई सय २३ र अदक्ष १३ हजार पाँच सय ५४ जना रहेका छन् ।
फागुनमा विदेशिनेमा सबैभन्दा बढी यूएईमा सात हजार एक सय तीन जना, मलेसियामा पाँच हजार नौ सय ४५ जना, कतार दुई हजार चार सय ३६, साउदी अरेबिया दुई हजार दुई सय ५१, रोमानिया दुई हजार पाँच सय ४३, कुवेत एक हजार नौ सय ९९ जना छन् । सरकारले अमेरिका–इजरायल र इरानबीच युद्ध चर्केपछि धेरै देशहरूमा श्रम स्वीकृति रोकेको छ । अहिले पश्चिम एसियामा राम्ररी हवाइ आवतजावत समेत हुन सकेको छैन । यो द्वन्द्वमा एक नेपालीले यूएईमा ज्यान नै गुमाइसकेका छन् ।