काठमाडौं । मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धको कारण ग्यासको अभाव भइरहेको मौका छोपी श्रीराम ग्यास उद्योग आफँै कालोबजारीमा संलग्न रहेको पाइएको छ ।
कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्नको लागि श्रीराम ग्यास उद्योगले छ हजार ३ सय ७७ वटा ग्यास सिलिन्डर लुकाएर राखेको भेटिएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिस्थित गोदाममा छापा मारेको थियो । सो क्रममा उद्योगको गोदामा भण्डारण गरिराखेको अवस्थामा छ हजार तीन सय ७७ वटा ग्यास सिलिन्डर फेला पारेको विभागले जनाएको छ । ग्यासको कृत्रिम अभाव सृजना गर्ने हेतुले भण्डारण गरेको अवस्थामा विभागको अनुगमन टोलीले सो उद्योगको गोदाममा १४.२ किलो तौल भरिएका ग्यास सिलिन्डर फेला पारेको हो । विभागले सो उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गराएको छ । साथै, फेला पारिएका ग्यास सिलिन्डर नेपाल आयल निगमको समन्वय र रोहबरमा बिक्रीवितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको छ । विभागले कृतिम अभाव सिर्जना गरी कालोबजारी गरेको भेटिएमा विभागको टोल फ्रि नम्बर ११३७ मा फोन गरी सूचना दिन पनि आग्रह गरेको छ ।
ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्तिमा असर पर्नेगरी कृत्रिम अभाव सृजना नगरी वितरण प्रणाली सहज गर्न विभागले आग्रह गरेको छ । पश्चिम एसियामा विकसित तनावका कारण ग्यास आपूर्ति नहुने आशंकमा उपभोक्ताले ग्यासको अधिक भण्डारण गर्दा वितरणमा समस्या भइरहेको निगमले जनाएको छ ।