काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा सरकारसँग माग गरेको छ । महासंघले इन्धनलगायतका निर्माण सामग्रीमा भारी मूल्यवृद्धि भएकाले मूल्य स्थिर नहुँदासम्मको लागि ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न माग गरेको हो ।
मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धको परिवेशको कारण देखाइ निर्माण उद्योगमा अत्यधिक प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेललगायतका इन्धन सामग्रीहरूमा भारी मूल्यवृद्धि भएको महासंघले जनाएको छ । महासंघका अनुसार हाल फलामे डन्डी प्रतिकेजी ८५ रुपैयाँबाट एक सय रुपैयाँ पुर्याइएको छ भने सिमेन्टमा पनि प्रति बोरा ५० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । सिमित उद्योगीहरूले मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकाले भुक्तानी अभावलगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप समस्याग्रस्त भएको महासंघले जनाएको छ । ‘निर्माण कार्य हुने अहिलकै सिजनमा इन्धन सामग्रीहरूमा भएको भारी मूल्यवृद्धिले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार पर्नुका साथै पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिने निश्चित छ’ महासंघका महासचिव रोशन दाहालद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
इन्धन सामग्रीहरूमा भएको भारी मूल्यवृद्धि बाहेक हालै निर्वाचनको मौका पारेर नेपालमा सिमित आयातकर्ताहरूले कार्टेलिङ गर्दै सडक निर्माणमा प्रयोग हुने बिटुमिनको पनि कृत्रिम अभाव सिर्जना गरी निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक समस्यामा पारेको महासंघको दाबी छ । महासंघका अनुसार सडक कालोपत्रे सुरु भएपछि बिटुमिनको अभाव हुँदा कालोपत्रे गर्न ठिक्क पारिएको सडकमा थप क्षति हुने सम्भावना रहेको छ । साथै, बुकिङ गर्दाको मूल्यभन्दा अहिले प्रतिलिटर ४० रुपैयाँसम्म मूल्य वृद्धि हुँदा निर्माण व्यवसायीहरू दोहोरो पीडामा परेका महासंघले जनाएको छ । अझ पछिल्लो समय भारतले बिटुमिनको निर्यात बन्द गरेका कारण मुलुकको निर्माण उद्योग थप प्रताडित भएको महासंघको विज्ञप्तिमा उल्लेख छ । निर्वाचनकै माहोलबीच सीमित उद्योगीहरूले फलामे डन्डी र सिमेन्टमा पनि मूल्य वृद्धि गर्दा सरकारी तथा निजी क्षेत्रको पूर्वाधारमा पनि ठूलो आर्थिक भार थपिएको महासंघले जनाएको छ ।
‘खुल्ला अर्थतन्त्रको नीति विपरित गरिएको यस किसिमको अव्यवहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध हो’, महासंघको विज्ञप्तिमा अगाडि भनिएको छ । सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुरुप मूल्य समायोजनको व्यवस्था गर्न पनि महासंघले माग गरेको छ । ‘मूल्यवृद्धि स्थिर नभएसम्म सम्पूर्ण आयोजनाहरूको निर्माण कार्य हाललाई स्थगित गर्न महासंघ बाध्य हुने व्यहोरासमेत अवगत गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ । एकातिर बजारमा निर्माण सामग्रीको मूल्यवृद्धि हुने र अर्कोतर्फ राष्ट्रबैंकबाट जारी हुने मूल्य सूचकांक वास्तविक नहुने भएकाले मूल्य स्थिर नहुँदासम्मको लागि सरकारको तर्फबाट नै ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न महासंघले अनुरोध गरेको हो ।