काठमाडौं । प्रहरीले एक करोड १६ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध हुन्डी तथा अभौतिक मुद्रा (क्रिप्टो) कारोबारमा संलग्न रहेको आरोपमा नागार्जुन नगरपालिका–८ भिमढुङ्गा बस्ने २८ वर्षीय सागर गिरी र प्रमोद प्रसाद धिताललाई पक्राउ गरेको हो ।
नागार्जुन नगरपालिका–८ भिमढुङ्गास्थित क्षेत्रमा अभौतिक मुद्रा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले घटनास्थलबाट विभिन्न व्यक्तिको नाममा रहेका ३ थान चेकबुक, २७ लाख ३० हजार रुपैयाँ बराबरका ३ थान चेक, विभिन्न बैंकका ४ थान एटीएम कार्ड, १ थान नागरिकता, २ वटा चारपाङ्ग्रे सवारी साधन, १ वटा दुईपाङ्ग्रे सवारी साधन, ३ थान सवारी दर्ता किताब, ६ थान मोबाइल फोन, ३१ थान एनसेल र एनटीसीका सिमकार्ड तथा १ थान कम्प्युटर सेटसमेत बरामद गरेको छ ।
त्यसैगरी, उनीहरूको क्रिप्टो कारोबारसँग सम्बन्धित ब्यालेन्स खातामा ७ हजार एक सय ७५ दशमलब ३४ यूएसडीटी रहेको विवरण पनि फेला परेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।