काठमाडौं । यातयात व्यवसायीहरुले सार्वजानिक सवारीसाधनको भाडा बढाउन माग गरेका छन् । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सोमबार एक विज्ञप्ति जारी गरी भाडा बढाउन माग गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकोले सवारीसाधनमा भाडा समायोजन गर्नुपर्नेमा महासंघको माग छ । महासंघका महासचिव डेकनाथ गौतमले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिले यातयात व्यवसायीहरु प्रभावित भएको बताए । पेट्रोलियम पदार्थको प्रत्यक्ष उपभोग गर्ने आम यातायात व्यवसायी र उपभोक्ता वर्गको हितलाई मध्यनजर नगरी साबिकको मूल्यमा एकाएक भारी मूल्यवृद्धि गर्दा देशभर यातायात सेवा सञ्चालन गर्ने यातायात व्यवसायी एवं यात्रुमा प्रत्यक्ष असर पर्न गएको उनको भनाइ छ । महासंघले निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गरी वैज्ञानिक विधि अपनाई पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ ।