काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । यसको लागि बैंकले सेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बैंकले ‘एभरेस्ट बैंक लिमिटेड ऋणपत्र २०८८’ नामक ऋणपत्र जारी गर्ने योजना बनाएको छ । यसअन्तर्गत, प्रति कित्ता एक हजार रुपैयाँ दरले ३० लाख युनिट ऋणपत्र बिक्री गरिने छ । बैंकका अनुसार, यसमध्ये ४० प्रतिशत अर्थात् एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई उपलब्ध गराइने छ भने ६० प्रतिशत अर्थात् १८ लाख युनिट व्यक्तिगत खरिदकर्ताहरूलाई बिक्री गरिनेछ । ऋणपत्रको अवधि छ वर्षको हुनेछ । यसमा वार्षिक छ दशमलव २५ प्रतिशत दरले ब्याज भुक्तानी हुने छ भने अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने छ ।
बैंक र बिक्री प्रबन्धकबीच भएको सम्झौतामा एभरेस्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।