काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउसले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीले सार्वजनिक सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको जनाएको छ ।
कम्पनीको मंगलबार सम्पन्न विशेष साधारणसभाले सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो, कम्पनीले जारी पुँजीको ३० प्रतिशतका दरले हुन आउने अंकित मूल्य एक सय रुपैयाँ कायम रहने गरी १६ करोड २० लाख रुपैयाँबराबरको १६ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ । उक्त रिसोर्ट भक्तपुरको डोलेश्वर क्षेत्रमा करिब १० रोपनी क्षेत्रफलमा फैलिएको छ । चारतारे होटलमा स्तरोन्नति हुने प्रक्रियामा रहेको रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको जनाएको छ । प्राकृतिक सौन्दर्यसँगै अत्याधुनिक सुविधा सहितको आरामदायी बसोबास, विवाह, ब्रतबन्ध, सेमिनार, गोष्ठी तथा पिकनिकजस्ता विभिन्न कार्यक्रमका लागि उपयुक्त स्थलका रूपमा परिचित यस रिसोर्ट प्रसिद्ध डोलेश्वर महादेव मन्दिरबाट करिब दुई सय मिटरको दूरीमा अवस्थित रहेको छ ।
कम्पनीले साधारण सेयर निष्कासनका लागि बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको जानकारी दिएको छ । साथै, केयर रेटिङ नेपालले कम्पनीलाई ‘बि प्लस’ रेटिङ प्रदान गरेको छ ।