काठमाडौं । मोरङ उद्योग व्यापार संघले औद्योगिक तथा प्रविधिजन्य प्रतिष्ठानहरुका लागि निःशुल्क सीप स्तरोन्नति तालिम आयोजना गरेको छ ।
उद्योग, व्यवसाय तथा सेवा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन एवं कार्यक्षमता अभिवृद्धि गराउने उद्देश्यलेसंघले ईन्स्योर/हेल्भेटस नेपालको सहकार्यमा आइतबारदेखि २४ दिने निःशुल्क सीप स्तरोन्नति तालिम आयोजना गरिएको हो । औद्योगिक तथा प्रविधिजन्य प्रतिष्ठानहरुमा अत्यन्त आवश्यक मानिने ताप, भेन्टिलेसन र वातानुकूलित प्रणाली तथा औद्योगिक घटक/उपकरण मर्मत तथा औद्योगिक कम्पोनेन्ट/उपकरण मर्मतसम्बन्धी तालिम सञ्चालन गरिएको संघले जनाएको छ । संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले उद्योग तथा प्रविधि क्षेत्रमा दक्ष प्राविधिक जनशक्तिको आवश्यकता बढ्दै गएको सन्दर्भमा यस्ता सीपमूलक तालिमहरुले उद्योग तथा प्रविधिजन्य प्रतिष्ठानहरुमा कार्यरत कामदारहरुको क्षमता अभिवृद्धि गरी उत्पादनशीलता बढाउन महत्वपूर्ण योगदान पुर्याउने बताए । उद्योग/प्रविधिजन्य प्रतिष्ठानहरुका यान्त्रिक (मेकानिकल) क्षेत्रमा कार्यरत विद्यमान कामदारहरुको दक्षता बढाउन सञ्चालित तालिमले प्राविधिक ज्ञान र व्यावहारिक सीपमार्फत कामदारहरुको कार्यक्षमता, मर्मतसम्भार क्षमता तथा कार्यस्थलमा समग्र उत्पादनशीलता वृद्धि गरी करिडोरका उद्योग प्रतिष्ठानहरुलाई प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरेको उनको भनाइ छ ।
वरिष्ठ उपाध्यक्ष साहले उद्योग, व्यवसाय तथा सेवा क्षेत्रको समग्र विकास, दक्ष जनशक्ति उत्पादन तथा निजी क्षेत्रको संस्थागत सुदृढीकरणका लागि संघ क्रियाशील रहेको बताए । मोरङ जिल्लासहित पूर्वी नेपालमा उद्योग–व्यवसाय क्षेत्रको प्रवर्द्धन, उद्यमशीलता विकास, नीति संवाद तथा सीपमूलक जनशक्ति विकासका क्षेत्रमा संघले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको उल्लेख गरे । तालिम कार्यक्रमलाई इन्स्योर÷हेल्भेटास नेपालका अनुगमन तथा मूल्यांकन अधिकारी रत्न बुद्ध र इन्स्योर परियोजना सहजीकरण एकाइ, कोशी प्रदेशकी टीभीईटी रेखा उप्रेतीले प्राविधिक संयोजन गरेकी छिन् । साथै, ज्ञान अटोमेसन एन्ड कन्ट्रोल सिस्टमका प्रबन्ध निर्देशक ईन्जिनियर किरणप्रसाद मण्डल र इन्जिनियर गुल्सन कुमार मौर्याले सहजीकरण गर्नेछन् । तालिममा विभिन्न उद्योग, अस्पताल, होटल तथा अन्य संस्थाहरुमा कार्यरत प्राविधिक कामदारहरुको उल्लेख्य सहभागिता रहेको छ ।