विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालय मोरङमा चीनीयाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने पुस्तक जलाएको विषयमा चीन सरकारले चासो देखाएको छ ।
मोरङको बुढीगंगा गाउँपालिकामा रहेको सो विश्वविद्यालयको हाताभित्रमा सरसफाइको क्रममा सी जिनपिङको पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ जलाएपछि अहिले घटनाले कूटनीतिक र प्रशासनिक दुवै तहमा गम्भीर तरंग सिर्जना गर्न पुगेको छ । पुस्तक जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत सरकारको ध्यानकर्षण गराएको छ भने चीनको ध्यानकर्षपछि गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्याउने उक्त घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । घटनाको छानबिन तथा कारबाही गर्न काठमाडौँस्थित चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । सोही पत्रउपर गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको हो । सो घटनाका सम्बन्धमा अनुसन्धान गर्न दोषीलाई कानुनी दायरामा ल्याउन मोरङको जिल्ला प्रशासन र प्रहरीलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । विश्वविद्यालयका सफाइ कर्मचारीहरूले सफाइ गर्ने क्रममा केहीप्रति किताब जलाएको भिडिओ सामाजिक सञ्जालमा आएको थियो । उक्त घटनालाई चीन सरकारले गम्भीर रूपमा लिएको छ । विश्वविद्यालयका उपकुलपती सुवाषश्री पोखरेलले यो घटना भिडियोसहित सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चीनले उच्च चासो लिएको बताए । उक्त पुस्तक जलाउनका लागि उपकुलपति पोखरेलले नै निर्देशन दिएपछि विश्वविद्यालय परिसरभित्र सफाइका कर्मचारीहरूले पुस्तक जलाएका थिए । कोशी प्रदेश सरकारको स्वामित्वमा रहेको इन्स्टिच्युटमा केही वर्षअघि सी जिनपिङको पुस्तक ल्याइएको थियो । स्टोरमा रहेका केही किताब धमिरा लागेको, केही पानीले भिजेका कारण सफाइ कर्मचारीले बिग्रिएका किताब सफाइका क्रममा जलाएको र सो क्रममा सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने पुस्तक पनि जल्न पुगेको उपकुलपति पोखरेलले बताए ।
यो घटनाले नेपाल र चीन द्विपक्षीय सम्बन्धसँग जोडिएको संवेदनशील मुद्दामा परिणत भएको छ । तर विश्वविद्यालय प्रशासनले भने यो घटनालाई नियतवश नभई सरसफाइका क्रममा भएको सामान्य घटनाका रूपमा लिएको छ । विश्वविद्यालयका उपकुलपति पोखरेल स्टोरमा लामो समयदेखि थन्किएका केही पुस्तक पानीले भिजेको र धमिराले नष्ट गरिसकेको अवस्थामा रहेकोले जलाइएको बताउँदै आएका छन् । बिग्रिएका पुस्तकहरूमात्र सफाइका क्रममा जलाइएको बताउँदै उनले यसमा कुनै आग्रह पूर्वाग्रह नराखिएको बताए । तरपनि यसलाई चीनले उच्च चासो राखेपछि सी जिनपिङको पुस्तक जलाएको कुरा थप जटिल मोडमा पुगेको विराटनगरका बुद्धिजीबिहरुले बताउन थालेका छन् ।
मनमोहन विश्वविद्यालय स्थापना हुनुअघि सो स्थानमा राजनितिकशास्त्रको पढाइ हुने गरेको थियो । त्यही समयमा मनमोहन स्मृति प्रतिष्ठानमार्फत विभिन्न संघ–संस्था तथा क्लबहरूमा वितरण गर्नका लागि उक्त पुस्तक ल्याइएका थिए । त्यसबेला सो विभाग संचालनको लागि नेकपा (एमाले)ले संचालक समितीको अध्यक्षमा स्व. भरतमोहन अधिकारीलाई खटाएको थियो । अधिकारीको निधन भएपछि उक्त ठाउँमा नेकपा (एमाले)कै ईश्वर पोखरेलले अध्यक्षता गर्दै आएको थिए । तर कोशी प्रदेशमा तत्कालीन शेरधन राईको नेतृत्वमा बनेको नेकपा (एमाले) र माओवादीको संयुक्त सरकारले मनमोहन विश्वविद्यालय छुट्टै विधेएक ल्याएर प्रदेश सरकार मातहत ल्याएपछि सुवाषश्री पोखरेल उपकुलपतिमा नियुक्ती भएर काम गरी रहेका छन् ।
उपकुलपति पोखरेलले पुस्तक व्यवस्थापन गर्ने नाममा भएको यो घटनाले कूटनीतिक तरङ्ग सिर्जना गरेपरि गृह मन्त्रालयको निर्देशनमा छानबिनको लागि सरकारी संयन्त्र नै परिचालन गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले विश्वविद्यालयलाई २४ घण्टाभित्र विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् । घटनाको यथार्थ विवरण अझै स्पष्ट भइसकेको छैन, अनुसन्धान जारी रहेको जनाइएको छ । ‘अब विश्वविद्यालयमा सी जिनपिङका कति पुस्तक जले, ती कस्ता अवस्थाका थिए भन्ने विषयमा आधिकारिक विवरण आउन बाँकी रहेको छ’, स्रोतले भन्यो । यस घटनालाई अब केवल स्थानीय तहको विषयमा सीमित नराखी राष्ट्रिय सुरक्षा र कूटनीतिक संवेदनशीलतासँग जोडिएको मुद्दाका रूपमा हेर्न थालिएको छ ।