काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आधा दर्जन कम्पनीहरूको सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार पछिल्लो दुईदिनमा लघुवित्त, हाइड्रोपावर कम्पनी र विकास बैंक सहितका सातवटा कम्पनीहरूको सेयर सूचीकृत भएको हो ।
सोमध्ये विजय लघुवित्त वित्तीय संस्थाको चार लाख ६६ हजार आठ सय १७ कित्ता फर्दर पब्लिक अफेरन्स (एफपीओ) सूचीकृत भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको एक दशमलव पाँच प्रतिशतका दरले हुन आउने ३६ लाख ८३ हजार नौ सय ७२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी न्यादी ग्रुप पावर कम्पनी लिमिटेडको पनि चार दशमलव ७५ प्रतिशतका दरले हुन आउने १७ लाख ५८ हजार सात सय १५ दशमलव २८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सका अनुसार युनाइटेड इदीमर्दी आरबी हाइड्रोपावर कम्पनी लिमिटेडको पनि पाँच प्रतिशतका दरले हुन आउने दुई लाख ३० हजार चार सय १२ कित्ता बोनस सेयर सूचीकृत हुँदा साइन रेसुंगा डेभलपमेन्ट बैंकको पनि तीन प्रतिशतका दरले हुन आउने १४ लाख ६२ हजार सात सय १० दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको पनि ४० प्रतिशतका दरले हुन आउने ५१ लाख ३७ हजार चार सय ८९ दशमलव १४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार यी सातवटै कम्पनीको सेयर पछिल्लो दुई दिन अर्थात् सोमबार र मंगलबार सूचीकृत भएका हुन् ।