काठमाडौं । नेपाल र जर्मनीबीच द्विपक्षीय व्यापार तथा आर्थिक सम्भावना अझै पूर्णरूपमा उपयोग हुन नसकेको सरोकारवालाहरूले बताएका छन् ।
काठमाडौंमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा उनीहरूले नेपाल र जर्मनीबीच सन् १९५८ देखि कायम कूटनीतिक सम्बन्ध बलियो भए पनि व्यापारिक सम्बन्ध भने पर्याप्त हुन नसकेको बताएका हुन् । नेपालका लागि जर्मनीका राजदूत उदो यूजेन भोल्जले नेपाल–जर्मनी सम्बन्ध दीर्घकालीन र बहुआयामिक रहेको उल्लेख गर्दै विभिन्न विकास क्षेत्रमा जर्मनीको निरन्तर सहयोग रहेको बताए । उनले नेपालमा सम्भावित आर्थिक अवसर र लगानीको वातावरणप्रति जर्मनी सकारात्मक रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले नेपाल–जर्मन उद्योग वाणिज्य संघले द्विपक्षीय व्यापार प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गरिन् । उनले यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले युवा पुस्तामा उद्यमशीलता र अन्तर्राष्ट्रिय दृष्टिकोण विकास गर्न मद्दत गर्ने बताइन् ।
नेपाल–जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले शिक्षा र उद्योगबीचको सहकार्य अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले जर्मन द्वैध शिक्षा प्रणालीलाई नेपालका लागि उपयोगी मोडेलका रूपमा प्रस्तुत गरे । सोल्टी ग्रुप अफ कम्पनीजका उपाध्यक्ष सुदर्शन चापागाईंले पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीको सम्भावना उच्च रहेको बताए । उनले जर्मनीमा नेपाली लगानी विस्तार भइरहेको उल्लेख गर्दै भविष्यमा थप सहकार्यको अपेक्षा व्यक्त गरे । कार्यक्रममा सहभागीहरूले नेपाल–जर्मनी आर्थिक सम्बन्ध विस्तारका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र सीप विकासमा जोड दिनुपर्ने बताएका थिए । कार्यक्रममा जर्मन बिजनेस स्कुलका ३० सदस्यीय प्रतिनिधिमण्डलले नेपालको आर्थिक अवस्थाबारे जानकारी लिँदै सहकार्यका नयाँ क्षेत्रहरूको खोजी गरेको थियो । कार्यक्रममा पूर्वाधार, ऊर्जा, पर्यटन, दिगो विकास तथा प्राविधिक–व्यावसायिक तालिममा सहकार्य विस्तार गर्न सकिने विषयमा छलफल भएको थियो ।