काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सकेमा निर्यात वृद्धि गर्ने ठूलो सम्भावना रहेको बताएका छन् ।
ललितपुर उद्योग वाणिज्य महासंघको ५९औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी निर्यात वृद्धि गर्नुपर्ने बताएका हुन् । ललितपुरलाई मौलिक उत्पादनको सहरका रूपमा विकास गर्नुपर्ने बताउँदै उनले यहाँको उत्पादनको गुणस्तर कायम राखेर उत्पादन पनि बढाउनुपर्नेमा जोड दिए । ‘यहाँका परम्परागत सीप, कला र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सके निर्यात वृद्धि गर्ने ठूलो सम्भावना रहेको छ । तर मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न गुणस्तरसँगै परिमाण पनि बढाउन आवश्क छ’, उनले भने ।
अध्यक्ष ढकालले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि, प्रविधिको प्रयोग र बजार विस्तारमार्फत निर्यात अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । साथै, स्थानीय तह, निजी क्षेत्र र सरकारबीच समन्वय गरी उत्पादनदेखि बजारसम्मको श्रृंखलालाई सुदृढ बनाउनुपर्ने बताए । उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा समग्र आर्थिक विकासका लागि ललितपुर उद्योग संघले निर्वाह गरेको भूमिका प्रशंसनीय रहको उनको भनाइ छ ।
कार्यक्रममा अध्यक्ष ढकालले देशमा औद्योगिक वातावरण निर्माणका लागि नीतिगत सुधार अपरिहार्य रहेको बताए । लगानीमैत्री नीति, सरल कर प्रणाली, पूर्वाधार विकास र प्रशासनिक झन्झट कम गर्नु आवश्यक रहेको उनको भनाइ छ । उनले निजी क्षेत्रको आवाजलाई राज्यले गम्भीरतापूर्वक सुन्नुपर्ने र नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए । साथै उनले निजी क्षेत्रको आवाज पनि एउटै हुनुपर्ने धारणा राखे । अध्यक्ष ढकालले महासंघको महाधिवेशन नजिँकिँदै गएको जानकारी दिँदै आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्ने बताए । महासंघभित्र सहमति र सहकार्यमार्फत नेतृत्व चयन गर्न सके संस्थागत एकताको आधार हुने उनको भनाइ छ । निजी क्षेत्रको साझा संस्था भएकाले यसको नेतृत्व पनि साझा सहमतिमै चयन हुँदा महासंघ अझ सशक्त र प्रभावकारी बन्ने उनले बताए ।
अध्यक्ष ढकालले जिल्ला तथा नगरस्तरबाट उठेका माग र सुझावलाई समेट्दै महासंघको विधान संशोधन गरिएको जानकारी दिए । यसले संगठनलाई थप समावेशी, प्रतिनिधिमूलक र सुदृढ बनाउने उनको भनाइ छ । महासंघको संशोधित विधानले जिल्ला नगर तथा महिला उद्यमीहरूको प्रतिनिधित्व बढ्ने उनले बताए ।